झापा, पुष ४ । राजश्व अनुसन्धान कार्यालय इटहरीले झापा बिर्तामोडको दुईवटा पसलमा छापा मारेको छ ।
भन्सार छलेर अवैध रुपमा सामान ल्याएको आशंकामा राजश्वको टोलीले बिर्तामोडको पूजा इलेक्ट्रोनिक्स स्टोर्स र जय माँ दुर्गा मार्वल सप्लायर्समा छापा मारेको हो । टोलीले ती दुईवटा पसलको स्टक बुकलगायतका कागजपत्र लिएर गएको छ ।
टोलीले पसलमा सिल गर्न खोज्दा आफूहरुले रोकेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए । ती पसलका बारेमा अनुसन्धान भइरहेको राजश्व अनुसन्धान कार्यालय इटहरीका एक अधिकृतले जानकारी दिए।
बिहान ११.३० देखि दिउँसो ४.३० बजेसम्म बिर्तामोड– ३ स्थित सोनम भट्टराईले संचालन गरेको जय माँ दुर्गा मार्वल सप्लायर्स र बिर्तामोड– ५ स्थित धिरज अग्रवालले संचालन गरेको पूजा इलेट्रोनिक्स स्टोर्समा राजश्व अनुसन्धान कार्यालय इटहरीबाट अनुसन्धान अधिकृत सरोज कोइराला र रामप्रसाद लुईटेलसहितको टोली आई चेकजाँच गरी आवश्यक कारबाहीको लागि केही कागजपत्रसहित स्टक जाँच गरी गएको ती अधिकृतले जानकारी दिए । साथै राजश्व अनुसन्धान कार्यालय इटहरीमा सम्पर्क गरी ती दुवै व्यवसायीलाई उपस्थित हुन निर्देशनसमेत दिएको जनाइएको छ ।