झापा, पुष ४ । बिर्तामोडमा मुख्य कार्यालय रहेर कोशी प्रदेशका तीनवटा जिल्लालाई कार्यक्षेत्र बनाएको नेपालकै अग्रणी सहकारी कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. २५ औं वर्षमा प्रवेश गरेको छ ।
यस अवसरमा संस्थाले बिहीवार बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी २५औं स्थापना दिवस तथा रजत महोत्सव शुभारम्भ समारोह सम्पन्न गरेको छ ।
कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महातारा प्रसाईंको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममार्फत रजत वर्षको लोगो सार्वजनिक गर्दै २५ जना ज्येष्ठ सदस्य र २५ जना विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
साकोसको नीति अनुसार संस्थाको शेयर सदस्य बनेर १० वर्षदेखि नियमित कारोबार गरिरहेका ७० वर्ष उमेर पार गरेका ज्येष्ठ सदस्यहरुलाई जनही ३ हजार रुपैयाँ प्रदान गरी सम्मान गरिएको हो । यो वर्ष संस्थामा यस्ता सदस्यहरुको संख्या ६४ जना रहेको र बिहीवार सांकेतिकरुपमा बिर्तामोड आसपासका २५ जनालाई उक्त रकम प्रदान गरी सम्मान गरिएको सचिव भुपाल बस्नेतले बताए ।
यसैगरी कर्णाली साकोसले हरेक वर्ष दामासाहीले प्रदान गर्दै आएको ५ लाख रुपैयाँ छात्रवृत्ति रकम यो वर्ष १०० जना विद्यार्थीलाई ५ हजार रुपैयाँका दरले प्रदान गर्न सुरु गरेको छ ।
संस्थाका शेयर सदस्यका छोराछोरीमध्ये २०८० सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने १०० जना विद्यार्थीलाई जनही ५ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गर्नेक्रममा बिहीवार २५ जनालाई हस्तान्तरण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
उक्त छात्रवृत्ति तथा ज्येष्ठ सदस्य सम्मान रकम संस्थाका अध्यक्ष श्रेष्ठ, प्रमुख अतिथि प्रसाईं, विशिष्ट अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, जिल्ला बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीलगायतले हस्तान्तरण गरेका थिए ।
रजत महोत्सव शुभारम्भ समारोहका प्रमुख अतिथि नगर प्रमुख प्रसाईंले केही खराब नियत बोकेका सहकारीका सञ्चालक र कर्मचारीका कारण सिंगो अभियानमाथि नै प्रश्न चिन्ह उठेको दावी गरिन् ।
सो कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठ र सचिव बस्नेतले २५ वर्षअघि कर्णाली साकोस स्थापना गर्दा भोगेका तीतामिठा अनुभवहरु सुनाएका थिए । यसैगरी सचिव बस्नेतले संस्था जन्माउन काठमाडौंमा छलफल गरेकोदेखि संस्थामा विभिन्न ‘नामहरु’ राखेर विश्वासिलो बनाएको तथा उद्घाटनको दिन चौरी सफा गर्दासम्मको घटना स्मरण गरे ।
कर्णाली साकोसका उपाध्यक्ष रामकुमार गौतमले स्वागत गरेको सो कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष ढकालले सहकारी अभियानको वर्तमान सन्दर्भहरुबारे चर्चा गरेका थिए ।