झापा, पुष ६ । बिर्तामोड नगरपालिकाका तीनजना वडाध्यक्षले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पद छोड्नुपर्ने भएको छ ।

सर्वोच्च अदालतले वडाध्यक्ष र सदस्यलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न रोक लगाएपछि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका तीन जना वडाध्यक्षहरुले सो पद छोड्नु पर्ने भएको हो । बिर्तामोड २ का वडाध्यक्ष किशोरकुमार पौड्याल , वडा नं ९ का हरिप्रसाद चम्लागाँई र वडा नं १० दुर्योधन गुरुङ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका छन् । पौड्याल वीर अमरसिंह मावि बेलडाँगी , चम्लागाँई शहीद लक्ष्मी आधारभूत विद्यालय र गुरुङ महेन्द्रज्योति मावि सैनिकबजारका अध्यक्ष हुन् ।
जनप्रतिनिधि एउटा विद्यालयको अध्यक्ष बन्नेभन्दा पनि वडाभित्रका सबै विद्यालयको अनुगमन र शैक्षिक व्यवस्थापनमा जिम्मेवार हुनुपर्ने सर्वोच्चले जनाएको छ ।
काठमाडौं महानगरपालिकासहित केही स्थानीय तहले कानुन बनाएरै वडाध्यक्ष वा निजले तोकेको सदस्यलाई व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिँदै आएका थिए ।काठमाडौं महानगरपालिकाले स्थानीय शिक्षा ऐन २०७५ लाई २०८० मा संशोधन गर्दै सम्बन्धित वडाको अध्यक्ष वा निजले तोकेको वडा सदस्य विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहने व्यवस्था गरेको थियो ।
उक्त निर्णय बदरको माग राख्दै १७ विद्यालयका व्यवस्थापन समिति अध्यक्ष २०८० भदौमा सर्वोच्च गएका थिए । त्यतिबेलै रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले काममा फर्कन उनीहरूलाई आदेश दिएको थियो । बर्खास्त गर्नुअघि सुनुवाइ र सफाइको मौका दिनुपर्ने अदालतको तर्क थियो ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको रिटमा अन्तिम सुनुवाइ गर्दै प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशनमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक इजलासले वडाध्यक्षलगायत जनप्रतिनिधि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न नसक्ने फैसला गत साउन १६ मा गरेको थियो । फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक भएको हो ।
सर्वोच्चको उक्त फैसलापछि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका वडाध्यक्षहरुका विषयमा छलफल गरिने बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले बताए । उनले भने, ‘ सर्वोच्चको उक्त फैसला काठमाडौं महानगरपालिकामा मात्र लागु हुने हो कि देशैभरि लागु हुन्छ त्यो अबस्था हेरेर निर्णय गर्छौ ।’ सर्वोच्चले देशैभरिका जनप्रतिनिधिले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न नपाउने फैसला गरेको खण्डमा आफू सो पद छोड्न तयार रहेको बिर्तामोड २ का वडाध्यक्ष पौड्यालले प्रतिक्रिया दिएका छन् ।