झापा,पुष १० । हचुमासा सामुदायिक वन उपभोक्ता समूहकी सचिव प्रभा नेपालले काठको विल गर्न केही ढिलाई भएको कुरामा आफूलाई आर्थिक अनियमितताको आरोप लगाएकोमा आपत्ति जनाउँदै धाकधम्की दिएर राजीनामा दिन बाध्य पारिएको बताएकी छन् ।

उनले गत असार ३१ गते सबै उपभोक्ताहरुले काठ लगिसकेपछि समितिका सदस्य तथा पदाधिकारीहरुले पनि काठ लैजाने क्रममा आफ्नो भनिएको काठ समितिका उपाध्यक्ष र सदस्यहरुले गाडीमा हाली पठाएको र त्यसबारे कार्यालय समय पछाडी मात्र थाहा भएर लेखा हेर्ने समिति सदस्यको व्यस्तताकां कारण विल गर्न ढिलाइ भएको स्पष्ट पारेकी छन् । उनले सो कुरालाई ठुलो अपराधझै मानी स्थानीय राजनैतिक पार्टीेका केही व्यक्तिहरूले कार्यालयमा आई गाली बेइज्जतीपूर्ण भाषामा आफूलाई धाकधम्की दिएर राजीनामा गर्न बाध्य पारिएको विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

‘मैले कसुर ठहरे सजायको भागी बन्न तयार छु भन्दाभन्दै पनि कार्यालय ताला लगाउने र कार्यालयको सम्पूर्ण काममा अबरोध गर्ने धम्कीपूर्ण शैलीमा प्रस्तुत भई अभद्र व्यवहारले मलाई राजीनामा गर्न बाध्य बनाइयो । र, मैले संस्थाको हित र ममाथि हुन सक्ने आक्रमणको त्रासले राजीनामा दिएकी हुँ ’ उनले विज्ञप्तिमा भनेकी छन् ,‘यसवाट पर्नजाने असरप्रति सम्पूर्ण उपभोक्ता महानुभावप्रति क्षमा याचना गर्दछु ।’

अर्जुनधारा– १ स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहमा आर्थिक अनियमितता भएको भन्दै स्थानीय जनप्रतिनिधिहरुले पुष ६ गते समूहको कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी भएकै दिन सचिव नेपालले राजीनामा दिएकी थिइन् ।गत आर्थिक वर्ष २०८०–०८१ को असार ३१ गते १७ किवी काठ बिक्री भएको थियो । त्यसको रकम भदौ २० गते जम्मा भएको देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्