वीरु दर्नाल,
भद्रपुर ,पुष ११ । येरुसेलम विलिभर्स चर्च भद्रपुरले विविध कार्यक्रम गरी ख्रीष्टमस पर्व मनाएको छ ।

हरेक वर्षको डिसेम्बर २५ तारिखलाई येशू ख्रीष्टको जन्मदिनको अवसरको स्मरण गर्दै विश्वभरिका ईसाई धर्मावलम्बीहरुले बडादिनको रुपमा जन्मोत्सव मनाएका हुन् ।
चर्चका रेभरेन फादर जगत वाग्लेको अध्यक्षता र भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । डिकन फादर समर वाग्लेले स्वागत तथा विक्रम वाग्लेले संचालन गरेको कार्यक्रममा बाईबलीय बचनद्वारा ख्रीष्टमसको महत्वबारे रेभरेन फादर जगत वाग्लेले प्रकाश पारेका थिए । रेभरेन फादर वाग्लेले पबित्र धर्मशास्त्र बाईबलअनुसार येशूको जन्मले मानिस जातिबिचको प्रेम , शान्ति लिएर आएको बताए । यसकारण पनि येशूको जन्ममा सबै हर्षित हुनु पर्ने बताए । यस्तै प्रमुख अतिथि पोखरेलले चर्चले धार्मिक कार्यसँगै बिभिन्न सामाजिक कार्य गरेर आफ्नो अलग पहिचान बनाउन सफल भएकोले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिन आग्रह गरे ।
त्यस्तै अर्का अतिथि भद्रपुर वडा नं ८ का वडा अध्यक्ष मनोज सुब्बा ( गौरव ) ले स्थानीय सरकारले सबैखाले धर्म, समुदायलाई उत्तिकै साथ र सहयोग गरेको बताउँदै आगामी दिनमा पनि यो कार्य नरोकिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा अग्रज संचारकर्मी गोपाल गिरी , पूर्व डीएसपी धनप्रसाद शिवाकोटी , रेडक्रसकर्मी केदार महतलगायत बिभिन्न सामाजिक ब्यक्तित्वको आतिथ्यता रहेको थियो । कार्यक्रमको अवसरमा स्थानीय मण्डलीका सात जना जेष्ठ सदस्य तथा मण्डलीलाई बिभिन्न समयमा सहयोग पुर्याउने छ जना सदस्यलाई सम्मान गरिएको थियो ।
साँस्कृतिक प्रस्तुती , भजन , कविता बाचनजस्ता कार्यक्रम गरी ख्रीष्टमस हर्षोल्लासपूर्वक मनाएको जनाइएको छ । आयोजकका अनुसार सान्ताक्लाउससँग फोटो खिचाउने युवाहरुको भीड थामी नसक्नुको थियो ।
२०६२–०६३ पछि धर्म निरपेक्ष राष्ट्र घोषणा भएसंगै सरकारले ख्रीष्टमसको दिनमा सार्वजनिक विदा दिँदै आएको छ । यसले गर्दा अन्य धर्मावलम्बीहरुसमेत ख्रीष्टमस उत्सवप्रति आकर्षित हुँदै गएका छन् । धन्यबाद र अन्तिमको प्रार्थना अध्यक्ष रेभरेन फादर वाग्लेले गरेका थिए ।