नेपाली सञ्चारकर्मीहरूको गौरवशाली छाता संगठन नेपाल पत्रकार महासंघको पछिल्लो समयावधि कठिन संक्रमणकालीन समयबाट गुज्रिन पुग्यो। अन्योलपूर्ण घडीमा मतदानका लागि तोकिएका दुईवटा मिति तुहिएपछि निर्धारण गरिएको २८ मंसिरको निर्वाचन मिति पनि त्यति धेरै विश्वसनीय थिएन ।
यद्यपि निर्वाचन सम्पन्न भयो, यो आफैमा सर्वाधिक उपलब्धि हो। प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत आफ्नो नेतृत्व चुन्ने अभ्यासको दोस्रो श्रृंखलाबाट नवीन नेतृत्वमा पुग्ने केन्द्रीय अध्यक्षसहित सबै तहका निर्वाचित पदाधिकारीहरूमा कार्यकाल सफलताका लागि हार्दिक शुभेच्छा ।
पछिल्लो निर्वाचन र झापा शाखा
नेपाल पत्रकार महासंघ झापा शाखा (२०७८–०८१) जो आफ्नो कार्यसम्पादन गरी नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरिरहेको थियो। यो परिवेशमा देशभरिबाट उत्कृष्ट शाखाको उपाधि चुमेर आफ्नो कार्यकाललाई स्वर्णिम बनाउँदै नवीन नेतृत्व स्थापित गरिरहँदा केही फरक परिवेश झापामा पक्कै पनि थिए ।
कोरोना कहरको महामारीलाई छिचोल्दै अघि बढेको झापा शाखाको यो कार्यसमितिको उडानमा आकाश सफा थिएन। बादलका अवरोधले गतिशील यात्रालाई हल्लाउने प्रयासहरु नभएका होइनन् । आपसी बैमनस्यता, रिसिबी, विरोध र व्यक्ति विशेष बहिष्कारहरु अवरोधरुपी बादलका रुपमा देखापरेको घामजस्तै छर्लङ्ग छ ।
पछिल्लो पटक नेपाल पत्रकार महासंघले निर्णय गरी कार्यान्वयनमा ल्याएको शुद्धिकरण अभियान देशव्यापी बिजनेसले आपसी दुरी बढाउने भूमिका खेलेकै हो। शुद्धिकरण अभियान आफैमा नराम्रो थिएन । तर, केन्द्रीय नेतृत्वको अकर्मण्यताका कारण यो अभियानले सोचेअनुरुप लक्ष्य प्राप्ति गर्न नसकेकै हो।
जसका कारण चुनावका मुखमा केन्द्रीय अध्यक्ष विपुल पोखरेल र त्यसपछि कार्यवाहक अध्यक्ष बनेका रमेश बिष्टले समेत राजीनामा दिनुपर्यो। यो राजीनामाका कारकहरु थुप्रै हुन सक्छन् । कारकहरुलाई समयले जवाफ दिँदै जानेछ ।
झापा शाखाको हकमा मात्रै नभएर देशभरि नै चुनावी मैदानका लागि संगठनहरू बीचमा गठबन्धन तयार भए । प्रष्ट रुपले सरकारमा रहेका दलहरू निकट दुईवटा संगठन नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपाल एकापट्टि र विपक्षी मोर्चामा रहेका दलहरुसँग निकट रहने संगठन अर्कोपट्टि बसेर चुनावमा होमिए । यसको नाफाघाटा चुनावी परिणामले देखाइसकेको छ ।
चुनावी परिणाम आफूलाई संयमित गर्ने ,समीक्षा गर्ने , आफूले आफैंलाई मूल्याङ्कन गर्ने, विजयी हुनेले कार्ययोजना कार्यान्वयन गर्ने र उपविजेताले रचनात्मक र खबरदारीपूर्ण सहयोगी भूमिका निर्वाह गरी छाता संगठनको जगलाई थप दर्बिलो बनाउने एउटा पर्व पनि हो। यति कुरा सबैले बुझ्नसके अधिकांश समस्या समाधान भएर जानेछन् ।
निर्वाचनका दौरानमा पक्ष प्रतिपक्ष स्वाभाविक हो। प्यानल र मोर्चाबन्दी एउटा अभ्यास हो। तर, निर्वाचनको परिणामपछि यो अभ्यास एउटा संरचनामा परिणत हुन जान्छ। प्यानल, मोर्चाबन्दी र त्यसको स्वस्थ अभ्यास अल्पकालीन कुरा हो। परिणामपछि आउने संरचना भने दीर्घकालीन हुन जान्छ। यो मूल्यलाई आम पत्रकारले आत्मसात् गर्नु अनिवार्य छ।
पत्रकारहरूले यो समाजलाई दिशानिर्देश गरिरहेका हुन्छन्। यो समाजले पनि पत्रकार र पत्रकारका संगठन र संरचनाहरुलाई उति नै नजिकबाट पढिरहेका छन्। समाज संरचनाका सबै पक्षका लागि पत्रकार महासंघ र आबद्ध पत्रकारहरु परीक्षाकै कसीमा बाँधिएका छन् भन्ने मर्मलाई भुल्न कदापि सकिँदैन ।
त्यसकारण महासंघको जिम्मेवारीमा पुगेका साथीहरू सामाजिक उत्तरदायित्व निर्वाह गर्ने–गराउने उपल्लो चरणमा पुगेका छन् भन्दा अत्युक्ति नहोला ।
अबको बाटो
झापा शाखाको नवीन नेतृत्वका अगाडि कोरोनाको कहर पनि छैन यतिबेला । उडान भर्ने आकाश कञ्चन, सफा र स्निग्ध देखिएको छ। झापा शाखाका अध्यक्ष सफलतापूर्वक एउटा कार्यकाल पूरा गरी शाखाकै दोस्रो कार्यकालको प्रारम्भिक चरणमा हुनुहुन्छ । पछिल्लो पटक प्राप्त उपलब्धिलाई अझ मजबुद र संस्थागत गर्न, धराशायी हुँदै गरेका संचारमाध्यमको जग दर्बिलो बनाउन, आफ्नो जीवनको ऊर्जाशील समयलाई पत्रकारितामै खर्चिएर तलब र सुविधाबाट बन्चित भइरहेका आफ्ना केही सदस्यको मागलाई सम्बोधन गर्न ,सञ्चारका नवीन आयामहरुसँग झापाली पत्रकारहरुलाई जोड्न, क्षमता अभिवृद्धिका प्रशिक्षण सञ्चालन गर्न, उमेर समूहका हिसाबले तीनवटा पुस्ता क्रियाशील रहेको झापाली सञ्चारको आँगनमा सृजनशीलता संरक्षण गर्न नयाँ नेतृत्व उन्मुख बनोस्।
निर्वाचनका दौरानमा देखिएको पछिल्लो अभ्यास र परिणामले खडा गरेको संरचनामा घुनपुतली नलागेमा हामीले अपेक्षा गरेको लक्ष्य पक्कै प्राप्ति हुनेछ । तर, पत्रकार जगत र सचेत नागरिक समाजले शङ्काको सुविधा लिएर उठाउँदै गरेको प्रश्न चिन्ह कतै पत्रकार महासंघको नविन संरचनाको आयु अहिलेको एमाले– कांग्रेसबीचको संघीय सरकारको स्थायित्वका लागि मात्रै त होइन ? यो प्रश्न बडो गम्भीर छ !!
सरकार आउँछन् जान्छन् –दलहरू मिल्छन् –फुट्छन् त्यो अर्को पाटो हो। तर अन्योल, भुमरी, बैमनस्यता, तिक्तता, विरोध र बहिष्कारजस्ता अप्रिय विषयलाई कुल्चिएर आशाका उज्यालो किरणलाई स्वागत गर्दै अघि बढेको झापाली पत्रकारहरूको साझा घर निर्दिष्ट लक्ष्य प्राप्तिमा निर्भिघ्नतापूर्वक अघि बढोस्। नेपाल पत्रकार महासंघ झापाका नवनिर्वाचित अध्यक्ष एकराज गिरीसहित सबै पदाधिकारी र सदस्यहरूमा हार्दिक शुभेच्छा, शुभकामना ।