झापा, पुष १२ । मोरङको उर्लावारीमा बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

आज बिहान ६ः१० बजे उर्लाबारी नगरपालिका ४ बक्राहा पुलस्थित पूर्वपश्चिम राजमार्गमा पथरीबाट उर्लाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ख ४१३६ नं.को बसले सोही दिशातर्फ आउँदै गरेको साइकलयात्री स्थानीय ६६ वर्षीय निरबहादुर लिम्बूलाई ठक्कर दिएको थियो । घाइतेलाई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे पठाएकोमा डाक्टरले चेकजाँच गर्दा बिहान ७ः१० बजे मत्यु भइसकेको थियो । शव सोही अस्पतालको शवगृहमा रहेको छ भने बस र बस चालक झापा हल्दिबारी ३ बस्ने ३० वर्षीय पदम गौतमलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।
यसैबीच दिउँसो ३.१५ बजे उर्लाबारी ३ मंगलबारे बजारमा मृतकका आफन्तहरू भेला भई पूर्वपश्चिम राजमार्ग अवरोध गरेका थिए । पछि छलफल गर्ने गरी सम्झाई बुझाई सडक खुलाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै पाँचथरमा धुन राखेको गाडी एक्कासि बगेर पार्किङ गरी राखेको अर्को गाडीमा ठोक्किएको छ । आज दिउँसो ४ बजे पाँचथर फिदिम –२ सिद्धदेवी ग्यारेजमा धुन राखेको को २ च ८८१७ नम्बरको बोलेरो पिकअपले आफै बगेर नयाँ बसपार्कबाट तुम्देन चोक जाने बाटोमा पार्किङ गरेर राखेको को १च २८६ नम्बरको अर्को बोलेरो पिकअपलाई ठक्कर दिएको थियो । उक्त पिकअपको चालकतर्फ क्याबिन र ढोकामा सामान्य क्षति भएको छ भने को २च ८८१७ नम्बरको पिकअपको डालामा सामान्य क्षति पुगेको छ ।
त्यस्तै ग्यारेजका कामदार फिदिम २ बस्ने २५ वर्षीय मिलन दर्जी सामान्य घाइते भएका छन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर लगिएको छ । को २ च ८८१७ नम्बरको बोलेरोले को १च २८६ नम्बरको बोलेरो पिकअप बनाइदिने र कामदारलाई ग्यारेज साहुले उपचार गराइदिने सहमति भएको जनाइएको छ ।