झापा , पुष १२ । २० औं वर्षदेखि सञ्चार क्षेत्रमा आबद्ध भएर गीत संगीतलाई अविरल यात्राको रुपमा अगाडी बढाउँदै आएका युवा गायक तथा संगीतकार निरज पोखरेल नयाँ पूर्वेली मारुनी भाका लिएर आएका छन ।

मारवाडी साहित्यमा गीत तथा कविता लेखेर आफ्नो साहित्य क्षेत्रलाई फराकिलो बनाउँदै आएका कवि , गीतकार सत्यनारायण तायालको शब्दमा ‘नजाउ मलाई एक्लै छोडी….’ बोलको मारुनी भाका गीतमा स्वयम् गायक निरजले संगीत दिएका छन् । निरजको साथमा चर्चित गायिका मेलिना राईले पनि स्वर दिएकी छन् । काठमाडौँस्थित ए लेवल स्टुडियोमा रेकर्डिङ भएको गीतलाई झापाली सङ्गीतकार विकास चौधरीले एरेन्ज गरेका छन् ।

२०६० सालमा विकास चौधरीको संगीत, गिरिराज निरौलाको शब्दमा पहिलो पटक “माथि है पर्यो फुङलिङ बजार ..” भन्ने पूर्वेली लोक भाका जुनु रिजालसँग युगल गीत गाएका निरजले पुनः २०७२ सालमा आफ्नै शब्द सङ्गीत, स्वरमा “ मेरो हजुरले मलाई. .”बोलको गीत रेकर्डिङ गराई स्रोता र दर्शकमाझ ल्याइसकेका छन् ।

२०६० सालबाट पूर्वको पहिलो कन्चनजङ्गा एफएमबाट प्राविधिकको रुपमा संचार क्षेत्रमा प्रवेश गरेका उनले करिव ४० भन्दा बढी गीतमा संगीत दिएका छन् भने हाल विभिन्न विद्यालयमा पियानो र नाटकको प्रशिक्षकको रूपमा कार्यरत छन् ।

क्षितिज नाट्य प्रतिष्ठानमा संगीत विभाग प्रमुख, डाइनामिक मिडिया ग्रुप नेपालका कोषाध्यक्ष,भद्रपुर नगरपालिकाअन्तर्गत भद्रपुर साहित्य संगीत कला प्रतिष्ठानका सदस्य , बहुभाषिक साहित्य संगीत कला केन्द्रका सदस्य निरज जेनियस मिडियाका प्रबन्धक हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्