फुटबल हबको रूपमा परिचित झापा जिल्लामा स्थापित झापा गोल्डकप यो समयमा अधिवेशनको संघारमा उभिएको छ। सन् २०१६ बाट अन्तर्राष्ट्रिय गोल्डकप आयोजना गर्दै आएको झापा गोल्डकपले पछिल्लो पटक सन् २०२४ मा छैठौ संस्करण शानदार रुपमा सम्पन्न गरिसकेको छ।
नेपाली फुटबलको श्रीवृद्धि र उन्नयनका लागि निरन्तर क्रियाशील अभियन्ता जलकुमार गुरुङको परिकल्पनामा संगठित झापा गोल्डकपले छैठौं संस्करणसम्म आइपुग्दा नेपालमै प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा आफ्नो परिचय बनाइसकेको छ।
यो समयावधिमा संस्थापक अध्यक्ष जलकुमार गुरुङसहित होम पाण्डे,महेन्द्रकुमार गिरी र विनोद बस्नेतले सफल नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ ।
साथमा लामो समयदेखि क्रियाशील आबद्ध पदाधिकारीहरु, सचिवालय र प्राविधिक समूहको योगदान अतुलनीय रहेको देखिन्छ।
झापा गोल्डकपलाई स्तरीय,आकर्षक र देशविदेशमा सुपरिचित गराउन मुख्यतया झापाली फुटबलप्रेमी अनि शुभेच्छुक सहयोगीको भूमिकालाई कदापि भुल्न मिल्दैन।
झापा ११ फुटबल क्लबको सम्बर्द्धन गर्दै अझ स्तरोन्नति गर्ने उद्देश्यका साथ स्थापित झापा गोल्डकप आगामी दिनमा अझ बृहत्तर योजनाका साथ अघि बढ्नुपर्ने बिन्दुमा आइपुगेको छ।
फुटबल क्लबहरूबीच, फुटबल खेलाडीहरूबीच, देशविदेशमा हुने फुटबल प्रतियोगिताका आयोजकहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्दै होम टिमका रुपमा रहेको झापा ११ फुटबल क्लबको सुन्दर भविष्य निर्माणका लागि यो अधिवेशनले दिशा निर्देश गर्नुपर्ने देखिएको छ।
साथसाथै फुटबल मैदानहरूमध्येको आकर्षक र सहज मानिएको डोमालाल राजवंशी रङ्गशालाको पूर्वाधार निर्माण र स्तरोन्नतिका लागि आवश्यक पहलकदमी पनि झापालीहरूका लागि प्रधान विषय बनेको छ।
यिनै पृष्ठभूमिमा पुष २९ गते हुन गइरहेको झापा गोल्डकपको वार्षिक साधारण सभा र अधिवेशनले चयन गर्ने नयाँ नेतृत्वका लागि केही चुनौती र थुप्रै सम्भावनाहरु देखिन आउँछ।
चुनौतीहरू
मुलुकको राष्ट्रिय फुटबल टिमकै अधिकांश सदस्यहरू रोजगारीकै लागि वैदेशिक यात्रामा गइरहेका बेला मोफसलमा रहेका फुटबल क्लब र खेलाडीहरूलाई टिकाई राख्नु गम्भीर चुनौतीको विषय हो। यो परिवेशमा नयाँ खेलाडी उत्पादन र झापा गोल्डकपका लागि होम टिम झापा ११ फुटबल क्लबलाई व्यवस्थित र दर्बिलो बनाउने कर्म पहिलो प्राथमिकतामा पर्न आउँछ।
फुटबलका लागि प्रशिक्षार्थी मात्र होइन, प्रशिक्षार्थीका अभिभावकलाई पनि विश्वस्त तुल्याउन जरुरी देखिन्छ । त्यसका लागि सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा झापा गोल्डकपको नवीन नेतृत्वले ठोस कदम चाल्नुपर्ने निर्देश यो साधारण सभाले गर्न सक्दछ।
हाम्रो जस्तो अल्पविकसित मुलुकका लागि संसार जित्न सक्ने माध्यमहरू भनेकै कला, प्रतिभा र खेलकुद नै हो भनेर बुझाउनु र त्यसतर्फ सम्बन्धित निकायले निस्वार्थ योजना कार्यान्वयन गर्नु भन्ने मर्मलाई पनि यो अधिवेशनको बन्दसत्रमा छलफलको विषय बनाइनु पर्दछ।
पूर्वी नेपालमा फुटबलप्रेमीहरूको संख्या उल्लेख्य छ। अझ डोमालाल राजवंशी रङ्गशालामा त दर्शकको उपस्थिति नै प्रतियोगिताको एउटा महत्वपूर्ण गहना हो। यो गहनालाई सँधैभरि सजाएर राखिरहन हाम्रा क्लब र प्रतियोगिता आयोजकहरुले गुणस्तरीय खेल र खेलाडी निर्माण गरी टिकाई राख्नु अनिवार्य छ । यिनै चुनौतीहरुको समुचित सम्बोधन गर्ने नेतृत्व निर्माणमा आसन्न अधिवेशन केन्द्रित हुने विश्वास झापाबासीले गरेका छन्।
सम्भावनाहरू
मोफसलमै सर्वाधिक दर्शकहरूको उपस्थिति रहने झापा गोल्डकपको छैठौं संस्करणसम्म आइपुग्दा यसले अंगिकार गरेका नवीन आयामहरुलाई अन्य प्रतियोगिताका आयोजकहरुले पनि सिको गरेको पाइएको छ।
प्रतियोगिताका आगामी श्रृङ्खलाहरूमा दर्शकका लागि नविन प्रस्तुति समेट्दै खेल पर्यटन प्रवर्द्धनका थुप्रै सम्भावनाहरु कोर्न सकिन्छ।
फुटबल प्रतियोगितालाई व्यवसायको प्रवर्द्धन सँगसँगै प्राकृतिक र धार्मिक स्थलहरूसँग जोडेर अघि बढाउन सकेको खण्डमा कोशी प्रदेश बाहिरका दर्शकहरुलाई पनि झापा गन्तव्यका लागि आमन्त्रण गर्न सकिन्छ।
विशेष प्याकेजसहितको कार्ययोजना बनाउन सकेको खण्डमा प्रतियोगिता सञ्चालन अवधिको अघिल्लो र पछिल्लो दुवै सातालाई पर्यटन प्रवर्द्धनमा जोड्न सकिने सम्भावनालाई नकार्न सकिन्न।
फुटबल प्रतियोगिता त्यसमाथि प्रसिद्धि कमाइसकेको झापा गोल्डकपको आयोजना आफैमा गौरवपूर्ण छ। यसको गरिमा र उचाईलाई अझ शक्तिशाली बनाउन दूरदृष्टि योजनासहितको नविन नेतृत्व स्थापित हुनु जरुरी देखिन्छ । त्यसतर्फ झापा गोल्डकपको साधारण सभा र अधिवेशनका सहभागीहरुको ध्यानाकर्षण हुन सकोस् हार्दिक शुभकामना !!!!