झापा, पुष १७ । नेपाली संस्कृति र पहिचानलाई क्यालेन्डर र पात्रोमा सीमित नराखी विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिने उद्धेश्यले बिर्तामोड– ४ स्थित इडन गार्डेन एजुकेशन फाउन्डेसनले राष्ट्रिय टोपी दिवस मनाएको छ ।
जनवरी १ का दिन मनाइदै आएको टोपी दिवसका अवसरमा विद्यालयले प्रभातफेरी आयोजना गरेको थियो । विद्यालयबाट शुरु भएको प्रभातफेरीले बिर्तामोडको मुक्तिचौक परिक्रमा गरी पुनः विद्यालयमा आएर सभामा परिणत भएको थियो ।
नेपाली टोपी लगाएका विभिन्न प्लेकार्डसहित विद्यालय पोशाक , सांस्कृतिक पोशाक र एनसीसी ग्रुपमा विद्यार्थीहरु प्रभातफेरीमा सहभागी भएका थिए । विद्यालयका प्रिन्सिपल मोहन आचार्यको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष समीक्षा सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कक्षा ९ मा अध्ययनरत छात्रा गोमा मैनालीले टोपी दिवसको महत्वबारे प्रकाश पारेकी थिइन् । शिक्षक गीताराम आचार्यले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक कमल अधिकारीले गरेका थिए ।
आफ्नो पहिचान कायम गर्नका लागि व्यवहारिक ज्ञान दिन इडन गार्डेनले यस किसिमका कार्यक्रम गर्दै आएको छ । शहीद दिवसको अवसरमा पनि विद्यालयले प्रभातफेरी निकालेको थियो ।
टोपी दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोडको ४ नं वडा समितिले पनि बिर्तामोडमा प्रभातफेरी निकालेको थियो । जनवरी १ मा विदेशी नयाँ वर्ष मनाउनुको साटो नेपालीपनको दिन बनाउन टोपी दिवस मनाउनेको संख्या बढ्दै गएको छ ।