झिलझिले , पुष १७ । झापाको शिवसताक्षी नगरपालिकामा रहेको छिमेकी बचत तथा ऋण सहकारी संस्थाको सचिव पदमा विनोद सापकोटा निर्विरोध निर्वाचित भएका छन्।

संस्थाको १८औं वार्षिक साधारण सभाको बन्दसत्रले रिक्त सचिव पदमा यसअघि सञ्चालक समिति सदस्य रहेका सापकोटालाई निर्विरोध चयन गरेको हो। बुधबार झिलझिलेस्थित संस्थाको आफ्नै कार्यालयको सभाहलमा सम्पन्न निर्वाचनमा सापकोटा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक बेनु कार्कीले बताए । सापकोटा सो सहकारी संस्थाका संस्थापक कर्मचारी पनि हुन् ।

संस्थाको स्थापना कालदेखि नै सापकोटा सक्रिय सदस्यका रूपमा काम गर्दै आएका छन् । उनले संस्थाको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्। सचिव पदको लागि उम्मेदवारी दर्ता गर्ने एक मात्र व्यक्ति भएकाले सापकोटा निर्विरोध चयन भएको निर्वाचन समितिले घोषणा गरेको थियो।

सापकोटाले संस्थाको व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र सदस्यहरूको सेवा सुधार गर्ने प्रतिबद्धता जनाए। उनले संस्थाको आर्थिक स्थिरता र समृद्धिका लागि नयाँ योजनाहरू सञ्चालन गर्ने समेत बताएका थिए।

यसैगरी सञ्चालक समितिको रिक्त सदस्य पदमा दुधेका निरज दुलाल सर्वसम्मत चयन भएका छन्। सापकोटा सञ्चालक समितिको सचिव पदमा पदोन्नति भएपछि रिक्त पदमा ऋण उपसमितिका सदस्य रहेका दुलाल सञ्चालक समितिको सदस्य पदमा निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ।

गएको पुष १५ गतेदेखि सुरु भएको साधारण सभा बुधबार अध्यक्ष मोहन मैनालीद्वारा प्रस्तुत प्रतिवेदन, लेखा तथा सुपरीवेक्षण समितिको आन्तरिक प्रतिवेदन, महालेखा परीक्षकको प्रतिवेदन सभाको गणपरक संख्याले अनुमोदन गर्दै स्वीकृत गरेको छ। सहकारी संस्थाको कुल सदस्य संख्या ४३८५ रहेको छ ।

साधारण सभाको बन्दसत्रले विभिन्न महत्वपूर्ण निर्णयहरू स्वीकृत गर्दै १८औं वार्षिक साधारण सभा विधिवत रूपमा समापन भएको संस्थाका अध्यक्ष मैनालीले जानकारी दिए ।

यस्तै भावी कार्यक्रम र योजनाको आनुमानित आयव्यय पनि स्वीकृत गरिएको थियो। संस्थाको विनियम २०६४ पुनर्लेखन विनियम २०८१ सर्वसम्मत स्वीकृत गरिएको छ। संस्थाको बन्दसत्रले आर्थिक वर्ष ०८१÷ ०८२ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक समेत निर्धारण गरेको संस्थाका कार्यकारी प्रमुख नरप्रसाद ओलीले बताए ।

यस्तै साधारण सभाको बन्दसत्रले संस्थाको आन्तरिक कार्यविधि तथा नीति संशोधन अनुमोदन गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष मैनालीको अध्यक्षतामा भएको थियो।
यसैबीच सो सहकारी संस्थाले विभिन्न रोगबाट ग्रसित संस्थाका सदस्यलाई आर्थिक सहयोग प्रदान गरेको छ। क्यान्सर, मिर्गौला पीडित, मुटु, मेरुदण्डको समस्याबाट ग्रसित संस्थाका सदस्यलाई उपचारमा सहयोग पुर्याउने हेतुले आर्थिक सहयोग गरिएको सो सहकारी संस्थाले जनाएको छ।

यो कार्यक्रमसँग सम्बन्धित कार्यविधि नै बनाएर संस्थाका अन्य सदस्यलाई पनि आर्थिक सहयोग गर्ने सो सहकारी संस्थाले लिएको लक्ष्यलाई सभाले कार्यविधि निर्माण गरेर पीडित सदस्यलाई आर्थिक सहयोग प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको छ।
कार्यविधि निर्माणका लागि संस्थाका उपाध्यक्ष उदयप्रकाश राईको संयोजकत्वमा कार्यविधि लेखन समिति गठन गरिएको छ। सो समितिमा सचिव विनोद सापकोटा र कार्यकारी प्रमुख नवीन ओली रहेका छन् । चालु आर्थिक वर्षदेखि नै यो कार्यक्रम सञ्चालन हुने सहकारी संस्थाले जनाएको छ।

पहिलोपटक क्यान्सरपीडितहरु बन्धु मगर, प्रेमप्रसाद चिमरिया र लेखाकुमारी भट्टराईलाई जनही १५ हजार प्रदान गरिएको छ। यस्तै मुटुरोगपीडित कृष्णकुमार श्रेष्ठ र मिर्गौलापीडित फुर्वा तामाङलाई पनि जनही १० हजार प्रदान गरिएको छ।
यस्तै मेरुदण्डको शल्यक्रिया गरिएकी सपना ठटाल र अग्निपीडित जयन्ती राईलाई जनही ७ हजार प्रदान गरिएको छ । आन्द्राको सफल शल्यक्रिया गरेका संस्थाका सदस्य धनबहादुर पराजुलीलाई पाँच हजार प्रदान गरिएको सहकारी संस्थाले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्