झापा, पुष १९ । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परी करिव एक महिनादेखि बीएण्डसी अस्पतालमा रहेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई आज अदालतमा पेश गरिने भएको छ ।

सरकारी वकिलको कार्यालयले आज उनलाई अदालतमा बुझाउने भएको हो । अस्पतालमा रहेकै बेला शिवाकोटीसंगको बयान लिएर प्रहरीले अनुसन्धान पूरा गरेको थियो । आफूहरुले मुद्धा सरकारी वकिलको कार्यालयलाई बुधवार बुझाइसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । उनले त्यसपछिको प्रक्रिया सरकारी वकिलको कार्यालयले थालेको जानकारी दिए ।
सरकारी वकिलको कार्यालयले आज अभियोजन पत्र बुझाएको खण्डमा आइतवार मात्र बयान लिइने झापा जिल्ला अदालतका स्रेस्तेदार किरणकुमार सिंहले बताए ।
घरेलु कामदारको रूपमा राखिएकी नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ परेकै दिनदेखि बीएण्डसी अस्पतालमा राखेको छ । स्वास्थ्यमा समस्या भएको देखिएपछि शिवाकोटीलाई अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले उनलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो ।