उद्योग र व्यापारमा अपवादबाहेक अधिकांश व्यवसायीहरू नै विकर्षित भइरहेका बेला झापाको बिर्तामोडमा फेरि औद्योगिक व्यापार महोत्सव आयोजना हुँदैछ।
बिर्तामोड शहर झापाको मात्र नभएर पूर्वी नेपालकै प्रमुख बजारको रूपमा परिचित छ। त्यसमा पनि अलैची, अदुवा, कुचो, सुपारी, मसलाजस्ता कृषिजन्य वस्तुको केन्द्रीय बजार पनि हो बिर्तामोड।
यो शहरले व्यापार, कृषि, उद्यमशीलता, पर्यटन र स्वरोजगारको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ। आर्थिक गतिविधि सुस्ताइरहेका बेला यहाँका व्यवसायी र सर्वसाधारणले औद्योगिक व्यापार महोत्सवबाट कस्तो अपेक्षा गरेका छन् ?
उनीहरूको अपेक्षालाई महोत्सवले कति सम्बोधन गर्न सक्छ ? उद्योग व्यापारको प्रवर्द्धन र व्यावसायिक चहलपहलका लागि यो महोत्सवमार्फत के कस्ता योजना कार्यान्वयन हुँदैछन् ?उद्योगी व्यवसायी समेतको नेतृत्व गरिरहेको आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सवअघि स्पष्ट खाका तयार गर्नु जरुरी देखिन्छ ।
बिर्तामोड र आसपासका क्षेत्रमा साना तथा ठूला उद्योगहरू सञ्चालन गरी आर्थिक गतिविधि सशक्त बनाउने प्रयत्न गरिरहेका यहाँका व्यवसायीहरूले देश–विदेशका विभिन्न भागमा उत्पादित सामग्रीहरूको भण्डारण, वितरण र निर्यातको काम पनि गरिरहेका छन् । यो परिवेशमा कृषि उद्यम र कृषि व्यापारलाई यो महोत्सवले थप प्रोत्साहन गर्न सक्नुपर्दछ ।
झापासहित पहाडी जिल्लाहरू कृषि उत्पादनका लागि प्रसिद्ध छन्। आसन्न महोत्सवले यहाँका व्यवसायीहरूमार्फत कृषि उत्पादनको प्रशोधनदेखि तयारी वस्तु उत्पादन गरेर रोजगार सिर्जना गराउन थप प्रोत्साहित गर्न सकेको खण्डमा सबै लाभान्वित हुने नै छन् ।
स्वरोजगार र साना उद्यमका माध्यमबाट आफ्नो आर्थिक उपार्जनलाई दर्बिलो बनाउने प्रयत्नमा लागिपरेका उद्यमी व्यवसायीलाई महोत्सवले प्रोत्साहनसहितको प्राथमिकता दिएमा समग्र कार्यक्रम मेलाबजारमा मात्रै संकुचित हुन पर्दैन थियो ।
बेमौसमी मेलाबजारहरूको भीडबाट आफ्नो अलग परिचय कायम गर्न पनि बिर्तामोड औद्योगिक व्यापार महोत्सवले हस्तकला, तयारी पोशाक, मौलिक खाद्य सामग्री, कृषि प्रशोधन र स–साना व्यवसाय सञ्चालन गर्ने समुदाय तथा समूहलाई समावेश गराउनु अनिवार्य छ ।
सीमावर्ती भूगोलमा रहेको यो शहरलाई भारत, भुटान र बङ्गलादेशसँग दुईपक्षीय व्यापारको प्रवर्द्धनका निमित्त महोत्सवमार्फत जोड्न सकिने सम्भावना उत्तिकै नजिक छ।
आर्थिक समृद्धिलाई मुख्य उद्देश्य राखी सञ्चालन गरिने यो महोत्सवले दीर्घकालीन रुपमा प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटनलाई प्रवर्द्धन गर्न मद्दत पुर्याउने अपेक्षा पनि झापावासीले गरेका छन्।
यस क्षेत्रका प्रमुख पर्यटकीय स्थल, देवस्थल र परा– पर्यटनको प्रचुर सम्भावना बोकेका स्थानहरूलाई पनि यो महोत्सवका आगन्तुकहरूसँग प्रत्यक्ष ÷अप्रत्यक्ष जोड्न सके दूरगामी सकारात्मक प्रभाव पर्ने कुरामा दुई मत नहोला ।
अत्याधुनिक साङ्गीतिक प्रस्तुतिहरू र खेलसामग्री त रहन्छन् नै यो महोत्सवमा। यसभित्र पनि नेपाली कला र संस्कृतिका विविधताहरुलाई समेट्न सके मनोरञ्जनका अलावा नवीन पुस्तालाई गौरव गर्न योग्य सिकाईहरु पनि प्रदान गर्न सकिन्थ्यो । विविध जाति र भाषीहरूको मौलिक सांस्कृतिक प्रस्तुतिलाई पनि प्राथमिकतामा राखेर यो महोत्सव सञ्चालन गरिनु अर्को अनिवार्यता हो।
झापाको बिर्तामोडमा अब हुने औद्योगिक व्यापार मेला र महोत्सवहरू वस्तु किनबेचका लागि मात्रै सीमित हुनु हुँदैन। यस किसिमका इभेन्टहरूमा विचारसमेत आदानप्रदान हुनुपर्दछ। जसले साना ठूला राष्ट्रिय अन्तर्राष्ट्रिय उद्योगी व्यवसायीहरूबीच एउटै मञ्चमा अन्तरक्रिया हुन सकोस्। आफ्ना नयाँ उत्पादन सेवा र व्यवसायिक अवधारणाहरू प्रस्तुत गर्ने अवसर प्राप्त हुन सकोस्। नयाँ र नवीन उत्पादनहरू, उत्पादन विधि वा डिजाइनलाई प्रोत्साहित र सम्मानित गर्न सकियोस्।
अनुभवी र अग्रजका सफलताका कथाहरूलाई अनुसरण गर्न पाइयोस्। यिनै महोत्सवहरूमार्फत व्यवसायीहरूलाई डिजिटल मार्केटिङ, ग्राहक सेवा र ब्राण्ड विकासका आधुनिक विधिहरु पनि सिकाउन जरुरी छ। व्यवसायको वित्तीय योजना, लगानी रणनीति र आर्थिक जोखिम व्यवस्थापनका उपायहरू आदानप्रदान गर्दै इकमर्स प्लेटफर्महरु, मोबाइल एप्स र अन्य प्रविधिहरूको प्रयोगमार्फत व्यापार प्रवर्द्धन गर्ने किसिमका ज्ञान बाँड्न सके यस प्रकारका महोत्सवको महत्व अझ मजबुत हुँदै जाने थियो।
उत्पादक र उपभोक्ताको चाहनाबमोजिम नेपालमा उत्पादित एवम् आयातित वस्तु र सेवाहरूलाई एउटै थलोबाट अवलोकन गराउँदै उपभोग गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ आयोजना हुन गइरहेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापारमा उत्सव २०८१ समग्र व्यवसायीको उत्साह बढाउँदै उद्यमी र उद्योगहरूको पहिचान अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सफल बनोस् ! हार्दिक शुभेच्छा शुभकामना ।