झापा, पुष २० । पूर्वेली मजदुर यातायात प्रालि र बन्दगी युवा परिवारले बिर्तामोड– ३ सैनिकमोडको विराट सहकारी भवन अगाडि आयोजना गरेको भाक्का उत्सवमा भाक्का खानेहरुको भीड लाग्यो ।

चिसो मौसममा स्वादिष्ट तातो भाक्काको स्वाद लिन बिहानैदेखि भीड जम्मा भएपछि भाक्का बनाउने महिलाहरुलाई भ्याई नभ्याई थियो । बालबालिकादेखि बयस्क र वृद्ध उमेर समूहका मानिसहरु भाक्काको स्वादमा रमाइरहेका थिए । उत्सवमा जनप्रतिनिधि , पार्टी प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि , सुरक्षाकर्मी र सर्वसाधारण गरी सयौं सहभागी थिए । विराट सामुदायिक सिकाई केन्द्र र हिमालय एभरेष्ट इन्सुरेन्स प्रालिको सहयोगमा आठौ राष्ट्रिय भाक्का दिवसको अवसरमा सो उत्सव गरिएको पूर्वेली मजदुर यातायात प्रालिका अध्यक्ष हरि बास्कोटाले बताए । उनले ८५ केजी चामलको पिठोको भाक्का बनाएर वितरण गरिएको जानकारी दिए । केराको पातमा भाक्कासंगै टमाटर र धनियाको अचार सहभागीहरुलाई खुवाइएको थियो । भाक्का बनाउन करिव १० जना महिला खटिएका थिए भने त्यति नै संख्यामा वितरण गर्न स्वयंसेवक परिचालन भएका थिए ।

बन्दगी युवा परिवारका अध्यक्ष धनसिंह राजवंशीको अध्यक्षता तथा बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मौलिक परिकार भाक्का र भाक्का व्यवसायको प्रवर्द्धनका बारेमा मेची क्याम्पसका पूर्व क्याम्पस प्रमुख उमानाथ ओली , नेकपा एमालेका बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई , पत्रकार इन्द्रसिंह राजवंशीले बोलेका थिए । कार्यक्रममा बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल , जनप्रतिनिधिहरु शर्मिला राजवंशी , जगतबन्धु राजवंशी , लक्ष्मी रोक्का , विराट बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक रुद्र सिटौला , जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज गणेश पौडेल, बिर्तामोड नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीलगायतको उपस्थिति रहेको थियो । प्रविण राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन पूर्वेली मजदुर यातायात प्रालिका अध्यक्ष हरि बास्कोटाले गरेका थिए ।

पूर्वी तराईका राजवंशी, ताजपुरिया,गनगाईलगायतका आदिवासी जातिको मौलिक परिकार भाक्कालाई प्रवर्द्धन गर्नका लागि शुरु गरिएको भाक्का दिवसका अवसरमा विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरिएको हो ।

त्यस्तै अभय राजवंशी नेतृत्वको राजवंशी समाज विकास समितिले पुष २९ गते बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा भाक्का दिवस आयोजना गर्ने भएको छ । कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीलाई सम्मान गर्ने बताइएको छ ।

त्यस्तै उत्तम राजवंशी जिल्ला अध्यक्ष रहेको अर्को राजवंशी समाज विकास समितिले एकदिन अगावै पुष २८ गते भद्रपुरमा भाक्का उत्सव गर्ने जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्