झापा, पुष २० । ताप्लेजुङको पाथीभरामा केवलकार खारेजीको माग गर्दै मुक्कुम्लुङ संरक्षणकारीहरूले आन्दोलन चर्काएका छन् ।

केबलकार खारेज हुनुपर्ने , तीनजना मुक्कुम्लुङ संरक्षणकारीहरूलाई रिहा गर्नुपर्ने , नाम्जाङ्गे (तल्लो फेदी) बाट सशस्त्र र जनपद प्रहरी फिर्ता हुनुपर्ने मागसहित विभिन्न संघ संगठनहरुले आन्दोलन चर्काएका हुन् ।

ताप्लेजुङको नाम्जाङ्ग्रेमा पक्राउ परेका जनम लिम्बू, सुशिल लिम्बू र संजोग लिम्बूलाई रिहा गर्नुपर्ने मागसहित केवलकारको विरुद्धमा रहेका संघ संस्थाहरूले भोलिदेखि अनिश्चितकालीन बन्द आव्हान गरेका छन् । ताप्लेजुङ, पाँचथर , इलाम र झापामा पर्चा वितरण गर्दै पुष २१ गतेदेखि मेची राजमार्ग, तमोर करिडर र ताप्लेजुङभित्र अनिश्चितकालका लागि यातायात बन्द गर्ने घोषणा गरेका हुन् ।

यता झापाको बिर्तामोडमा पनि मुक्कुम्लुङ संरक्षणकारीहरूले विरोध प्रदर्शन र सभा गरेका छन् । आज दिउँसो बिर्तामोडको मुक्तिचोकमा मुक्कुम्लुङ संरक्षण समिति झापा, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, पहिचानवादी मोर्चा ,कोशी नाम खारेजी समिति, नागरिक उन्मुक्ति पार्टी, जसपा, संघीय लिम्बुवान राष्ट्रिय मंच, लिम्बु वस्गत (चाक्थुङ सचङ), किरात धर्म तथा साहित्य उत्थान संघ, नेवाः देय दबु, नेपाल जनमुक्ति पार्टी, सुनुवार सेवा समाज, तमु ह्युल छोजधीं र नेकपा माओवादी झापाको संयुक्त उपस्थितिमा विरोध प्रदर्शन गरिएको हो ।

किरात याक्थुङ चुम्लुङ बिर्तामोड नगर कमिटी अध्यक्ष हिमालयप्रकाश कन्दङवाको अध्यक्षतामा जसपा झापा जिल्ला अध्यक्ष समर राई, नेपाल जनमुक्ति पार्टी प्रदेश नं. १ का सचिव कृष्णकुमार थेवे ,पहिचानवादी मोर्चाका झापा जिल्ला संयोजक अग्निमाया मेचे , नागरिक उन्मुक्ति पार्टीका प्रदेश अध्यक्ष धनबहादुर पन्धाक, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका उपाध्यक्ष ज्ञानुहाङ इङ्बुङ , नेपाल जनमुक्ति पार्टीका बरिष्ठ नेता सन्जुहाङ पालुङ्वा, सलिराम जिल्ला अध्यक्ष राजा आङ्थुपोलगायत करिव ४०÷५० जनाको उपस्थितिमा कालोपट्टि बाँधी कालो झण्डासहित ताप्लेजुङस्थित मुक्कुम्लुङमाथिको उपनिवेशीकरण, अतिक्रमण र सरकारको ज्यादतीविरुद्ध तथा प्रकृति र संस्कृतिको संरक्षणको लागि भन्दै कोण सभा गरेका थिए । उनीहरुले विभिन्न नारा लगाउँदै प्रदर्शनसमेत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्