झापा, पुष २० । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले संचालक समिति र लेखा समितिका व्यक्तिहरुले ऋण नखाने हो भने सहकारीको असी प्रतिशत समस्या समाधान भएर जाने बताएका छन् । बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुमै बढी समस्या देखिएको भन्दै उनले संचालकहरुकै कारण झापाका केही सहकारीहरु अप्ठ्यारोमा परेको धारणा राखेका छन् ।

बचत तथा ऋण सहकारी संघ लि. झापाको १३ औं वार्षिक साधारण सभालाई आज कन्काईको दुर्गापुरमा उद्घाटन गर्दै उनले भने ,‘झापाका धेरै सहकारीहरु बिग्रेका छैनन् ,२–४ वटा मात्र बिग्रेका छन् ।’ नेताहरुलाई ऋण नदिँदा काठमाण्डौजस्तो भयावह अबस्था झापामा नरहेको उनको भनाई छ । ‘दुई–चारजना नेताले बिरिङ खोला किनारको जग्गा राखेर सहारामा ऋण खान खोजेका थिए’ सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका गिरीले भने,‘ त्यसमा लोभिएको भए सायद म पनि जेल जान्थे होला । ’ उनले सरकारले ल्याएको अध्यादेशलाई सुधार गर्न सडकदेखि सदनसम्म आवाज उठिरहेको भन्दै अध्यादेशका केही बुँदा सहकारीको हितमा नदेखिएको बताए ।

जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षता एवं राष्ट्रिय सहकारी बैंकका अध्यक्ष गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला सहकारी संघका लेखा सुपरीवेक्षण समितिका संयोजक चुडामणि ओझा, बिर्तामोड नगरपालिकाका सहकारी विभाग प्रमुख मोहन सुवेदीलगायतले शुभकामना मन्तव्य राखेका थिए । बचततर्फ उत्कृष्ट कारोबार गर्ने झापा गाउँपालिकास्थित पाथीभरा बचत तथा ऋण सहकारी संस्था र कर्जातर्फ बिर्तामोड ४ स्थित जनशक्ति बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष गिरी, बचत तथा ऋण सहकारी संघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष चन्द्रा खड्का भट्टराई र कोषाध्यक्ष विश्वेश्वरप्रसाद भट्टराईलाई सम्मान गरिएको थियो । बचत तथा ऋण सहकारी संघ झापाका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव यामकुमार चुडालले गरेका थिए ।

त्यस अवसरमा वीपी भट्टराईले लेखेको सामान्य सहकारी नामक पुस्तक विमोचन गरिएको थियो । जसको बारेमा लेखक तथा पत्रकार सन्तोष आचार्यले टिप्पणी गरेका थिए । बचत तथा ऋणको कारोबार गर्ने १५९ वटा सहकारी सो संघमा आवद्ध रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्