बिर्तामोड, पुष २० । पन्ध्र वर्षअघि करिव ८ लाखबाट शुरु गरेको बिर्तामोड ५ स्थित गौरवशाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो शेयर पुँजी एक करोड नजिक पुर्याएको छ ।
संस्थाले यस वर्ष ९४ करोड ३४ लाख २०० रुपैयाँ शेयर पुँजी पुर्याएको हो । शनिवार आयोजित १५ औं वार्षिक साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष लवकुमार चौधरीले आगामी वर्ष २० लाख शेयर पुँजी बढाउने लक्ष्य रहेको जानकारी दिए । उनले हाल शेयर सदस्य १७०१ जना रहेकोमा त्यसलाई आउँदो वर्षसमेत विस्तार गर्ने क्रमलाई निरन्तरता दिने बताए । यस वर्ष संस्थाले खुद नाफा ६ लाख ५३० रुपैयाँ कमाउन सफल भएको उनको भनाई छ ।
संस्थाका अध्यक्ष लवकुमार चौधरीको अध्यक्षता तथा बचत तथा ऋण सहकारी संघ कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष चन्द्रकला खड्का भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष युवराज विमलीले राखेका थिए । कार्यक्रममा लेखा समितिका संयोजक नथुनीप्रसाद साहले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा असल ऋणी विकास चौधरी, अनिताकुमारी राजवंशी र रेशकुमार आङबुहाङ, असल बचतकर्ताहरु सन्तोषकुमार गुप्ता, सरोज भण्डारी, रिना सुवेदी, प्रिती राजवंशी, विरला चौधरी तथा ज्येष्ठ नागरिक दुनसरी चौधरीलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट कर्मचारीको रुपमा अनिता चौधरी सम्मानित हुँदा साहसी महिलाका रुपमा संस्थाकी सचिव मिरा कार्की खड्कालाई सम्मान गरिएको थियो । उनले यसै वर्ष सफलतापूर्वक हिमाल आरोहण गरेकी थिइन् । त्यस्तै कर्मचारी किरण थारुलाई कर्म विद्या पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट बालबचतकर्ताहरु साइरा चौधरी र अनमोल यादवलाई सम्मान गरिएको थियो भने शेयर सदस्यका छोराछोरीमध्ये एसईईमा उत्कृष्ट अंक ल्याउने मिनाक्षी राई र प्र्राची देवलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भट्टराई, बचत तथा ऋण सहकारी संघका बिर्तामोड प्रतिनिधि बिनोद न्यौपाने, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली, नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सुष्मा पौडेल, अनारमनी आधारभूत विद्यालयका प्रधानाध्यापक टंक कटुवाल, संस्थाका सल्लाहकार पुष्पलाल चौधरी, माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवेन्द्र सिंहलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव मिरा कार्की खड्काले गरेकी थिइन् ।