झापा, पुष २१ । नेकपा एमालेले कारबाही गरेपछि वैकल्पिक शक्ति निर्माणको तयारीमा जुटेका भीम रावलप्रति झापाका धेरैजना आकर्षित भएका छन् ।
स्वतन्त्र र पार्टीबाट असन्तुष्ट बनेका झापाको ठूलो जमातले सुनसरीमा गएर रावललाई भेटेका छन् । रावल सुनसरीमा भरौल भेट्रान क्लबले आयोजना गर्ने भनिएको अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्न आएका थिए । तर, त्यो कार्यक्रम नभएपछि उनले बराहक्षेत्रकै एक होटलमा विभिन्न पार्टीबाट असन्तुष्ट भएकाहरूलाई भेटेका थिए ।
झापाबाट एमालेका असन्तुष्ट नेता कार्यकर्ता , दुर्गा प्रसाईका समर्थक, एकीकृत समाजवादीका नेता कार्यकर्ता , वीपी कांग्रेसका कार्यकर्ता र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता रावललाई भेट्न सुनसरी गएका हुन् । समूह–समूह बनाएर उनीहरुले रावललाई भेट गरेको सम्पर्क व्यक्तिको रुपमा काम गरिरहेका डम्बर गिरीले जानकारी दिए । झापाबाट डम्बर गिरी , श्याम पाठक , गोपी गिरीजस्ता व्यक्तिहरु रावलको पक्षमा खुलेरै लागेका छन् । त्यस्तै नरेश खरेल , शेरबहादुर थापा , भीम अधिकारी , जीवनकुमार श्रेष्ठ , दुर्गा भट्टराईलगायतसंग सम्पर्क भइरहेको बताइन्छ । एमालेका असन्तुष्ट , स्वतन्त्र रहेका , पुराना बामपन्थी ,एकीकृत समाजवादीका कार्यकर्ताहरु बढी रावलप्रति आशावादी देखिएका हुन् । उनीहरुले पहिला स्पष्ट राजनीतिक गन्तव्य निर्माण गर्न आग्रह गरेका छन् । रावल झापा आउने कार्यक्रम रहेको थियो । उनको कार्यक्रम भद्रपुरमा राखिएको थियो । तर, भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुख चन्द्रा श्रेष्ठको छोराको निधनका कारण रावल झापा आउने कार्यक्रम स्थगित भएको बताइएको छ ।
कार्यक्रम सहभागी भएका नेकपा एकीकृत समाजवादी सुनसरी जिल्लाका सचिवालय सदस्य गोकुल थापाकाअनुसार बराह क्षेत्रमा भएको कार्यक्रममा २ सय बढी कार्यकर्ता रहेका थिए । ‘धेरै एमालेका असन्तुष्टहरू थिए,’ उनले भने ‘झापादेखि समेत आएका थिए ।’
एमालेको दबाबमा फुटबल प्रतियोगिता भने स्थगित भएको थियो । ‘एमालेले कारबाही गर्नुभन्दा अगाडि नै उहाँलाई प्रमुख अतिथि बनाएका थियांै,’ क्लबका एक पदाधिकारीले भने ‘तर, एमालेको दबाब भएपछि कार्यक्रम रोकेका हौ ।’प्रतियोगिता भने २२ पुषका लागि सरेको क्लबले जनाएको छ । उद्घाटन सरेपछि आयोजक क्लबका पदाधिकारी विमल कार्कीलगायतले नै होटलमा रावललाई लगेका थिए । कार्की असन्तुष्ट एमाले हुन् । त्यहाँको कार्यक्रमपछि उनी धरानमा गएका थिए ।
धरानमा एमालेका केही कार्यकर्तालाई रावलले भेटेका थिए । २०७९ को निर्वाचनमा एमालेबाट विद्रोह गरेर सुनसरी १ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका मनोजकुमार मेयाङ्बोको समूहलाई उनले भेटेका थिए ।
बराहक्षेत्रमा भएको कार्यक्रममा भने ऋषि ढुंगाना, केशव मैनाली, अर्जुन कोइराला, राजन कार्कीलगायतका नेतासँग उनले भेटघाट गरेका थिए । पूर्व बराह नगर कमिटी अध्यक्ष गजेन्द्र थापा पनि कार्यक्रममा पुगेका थिए ।
धरानपछि रावलले इटहरीमा भेटघाट गरेका छन् । उनले इटहरीको सोल्टी होटलमा भेटघाट गरेका थिए । आज धरानका मेयर हर्क साम्पाङसंग भेट गर्ने कार्यक्रम रहेको गिरीले जानकारी दिए । ’