राजगढ पुष २१ । आर्थिक , सामाजिक र भौगोलिक हिसावले पछि परेको सीमावर्ती बाह्रदशीको अमृत माविमा दाताहरु न्यानो कपडा लिएर पुग्दा अधिकांश सीमान्तकृत समुदायका विद्यार्थीहरुमा हर्षको सीमा नै रहेन ।

पहिलो पटक दाताहरु आएको हुनाले न्यानो कपडा लिन विद्यार्थीहरु आतुर देखिए । यो जाडो मौसममा अधिकांश विद्यार्थीहरु स्वीटरबिना नै विद्यालय आएका थिए । धेरैको विद्यालय पोशाक च्यातिएको थियो भने खुट्टामा जुत्ता लगाउने कमै थिए । भारतीय सीमासंग जोडिएको बाह्रदशी १ को भागुडुब्बामा रहेको अमृत मावि जहाँ अधिकांश सीमान्तकृत , आदिवासी , जनजाति र मुस्लिम समुदायका विद्यार्थी पढ्छन् , सोही विद्यालयमा दाताहरु स्वीटर बाँड्न पुगेका थिए । जम्मा ४९६ जना विद्यार्थी अध्ययनरत रहेको त्यस विद्यालयमा दलित समुदायका ८८ , आदिवासी जनजाति समुदायका ३३० , बाहुन क्षेत्री समुदायका ३१ जना पढ्ने गरेको विद्यालयले जनाएको छ । सोही विद्यालयका विपन्न विद्यार्थीहरुलाई लीलामाया खड्का आदर्श फाउन्डेशनले न्यानो कपडा वितरण गरेको हो ।

गरिव तथा विपन्न वर्गका ४९६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको फाउन्डेशनकी संरक्षक शिखा खड्का गणेशले जानकारी दिइन् । लीलामाया खड्का आदर्श फाउन्डेशन , झापा एफसी, फ्रेन्जको सहयोगमा वितरण गरिएको न्यानो कपडा वितरणको कार्यक्रमको व्यवस्थापन सहारा नेपालले गरेको हो । विद्यालयका प्रधानाध्यापक रामबहादुर बुढाथोकीले आफ्नो विद्यालयमा वर्षौपछि परोपकारी संस्थाले विद्यार्थीहरुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।
एनएसएल टिम झापा एफसीका अध्यक्ष विक्रम खड्काले फाउन्डेशनमार्फत आफू जन्मेको हुर्केको ठाउँको विद्यालयमा परोपकारी काम गरेकोमा प्रअ बुढाथोकीले आभार प्रकट गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरेर फाउन्डेशनले ठुलो योगदान गरेको बताए । गिरीले हुनेले नहुनेहरुलाई सहयोग गर्न जरुरी रहेको धारणा व्यक्त गरेका छन् । उनले आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूमिराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री टेकनारायण राजवंशीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा लीलामाया खड्कासहित फाउन्डेशन परिवारको सहभागिता रहेको थियो ।

बाह्रदशी गाउँपालिका १ भागुडुब्बामा राजवंशी, सन्थाल, मुसलमान र यादव जातिको बसोबास सदियौंदेखि पाइन्छ । दशकौंदेखि भौतिक अभाव झेल्दै आएका भागुडुब्बाबासीले २० को दशकसम्म शिक्षा आर्जन गर्न पाएका थिएनन् । गाउँमा शिक्षाको जग बसाउन समाजसेवी अग्रज स्व.अमृतलाल राजवंशीको अतुलनीय योगदान छ ।

उनले भागुडुब्बाका बालबालिकालाई शिक्षा प्रदान गर्ने हेतुले विद्यालय स्थापनाको अभियान चलाएका थिए । विसं. २०२० सालमा आफ्नो नामको एक बिघा १२ कट्ठा ३ धुर जमिन निःशुल्क दान गरी राजवंशीले भागुडुब्बामा ‘अनिवार्य तथा निःशुल्क प्राथमिक पाठशाला केन्द्र नं. २ बोक्राझाडी’ नामक विद्यालय स्थापना गरेका थिए ।

स्थापनाको समयमा राजवंशीले दान गरेको जमिनमा ‘यू’ आकारको चार कोठे विद्यालय भवन निर्माण गरिएको थियो । सो भवनमा तत्कालीन सरकारले कक्षा १ देखि ३ सम्म पठनपाठन गर्न पाउने स्वीकृति प्रदान गरेको थियो । स्थानीयबासीको साथसहयोग र शिक्षा आर्जन गर्ने विद्यार्थीको चापले विद्यालयलाई थप ‘अपग्रेड’ गर्नुपर्ने बाध्यता पनि थपिदैँ गयो । शिक्षक, अभिभावक तथा स्थानीयबासीको सहमतिमा विसं. २०३० सालमा यस विद्यालयलाई प्राथमिकबाट निम्न माध्यमिक बनाउने प्रस्ताव अघि सारिएको थियो । सोहीअनुसार विद्यालयमा कक्षा थप गर्ने क्रम पनि बढाउदै लगियो । विसं. २०४२ सालसम्म स्थानीय अभिभावक तथा समाजसेवीलगायतको सहयोगबाट ११ बर्ष निजी खर्चबाट प्रस्तावित निमाविको रुपमा विद्यालय सञ्चालन गरिएको इतिहास छ ।

सरकारले २०४२ साल माघ २२ गते कक्षा ७ सम्म पठनपाठन हुनेगरी निम्न माध्यमिक विद्यालय स्वीकृत गरेको थियो । स्वीकृति दिने क्रममा विद्यालयको नाम ‘अनिवार्य तथा निःशुल्क प्राथमिक पाठशाला केन्द्र नं. २ बोक्राझाडी’ हटाएर विद्यालय स्थापना गर्ने कार्यमा तन, मन र धन दिएर योगदान गरेका अमृतलाल राजवंशीको नामबाट विद्यालयको नाम जुराईयो ‘अमृत नि.मा.वि.बोक्राझाडी राजगढ १ ।’
नि.मा.वि. कक्षा ८ सम्म पठनपाठन हुनुपर्ने भएकाले २०५३ साल मंसिर ९ गतेदेखि पुनः निजी स्रोतमा कक्षा ८ थप गरियो । स्थानीय अभिभावक, शिक्षक, समाजसेवीलगायतको सहयोगमा ५० हजार रुपैयाँ बैंकको मुद्धति खातामा राखेर कक्षा ८ थप गरी सञ्चालन गरिएको थियो । कक्षा थप गरिएपनि उक्त कक्षा सञ्चालनका लागि सरकारले विद्यालयलाई शिक्षक दरबन्दी नदिएको बाह्रदशी १ का पूर्व वडाध्यक्ष शम्भुसिंह राजवंशी बताउँछन् ।

जिल्लाको दक्षिण–पश्चिम भेगका निम्न आयस्रोत भएका गरिब जनताका छोराछोरीलाई आधारभूत शिक्षा उपलब्ध गराउनेतर्फ विद्यालय परिवार सधैं चिन्तित रह्यो । यसै क्रममा २०७५ सालदेखि प्रस्तावित माविका रुपमा विद्यालयमा कक्षा ९ को पठनपाठन सुरु गरियो । २०७६ सालमा यस विद्यालयका ४१ जना विद्यार्थीले पहिलो पटक कक्षा १० को एसईई परीक्षाको तयारी गरेका थिए ।

विद्यालयको नाममा विभिन्न दाताले दिएको कूल ५ बिघा १० कट्ठा ३ धुर जमिन छ । त्यहीँ जमिनमा विद्यालय रहेको छ । १ बिघा जमिन अन्धुवा खोलाले कटान गरी बगरमा परिणत गरेको छ । ३ बिघा १५ कट्ठा जमिन उचित व्यवस्थापनको अभावमा काँसघारीको रुपमा रहेको छ । विद्यालय परिसर रहेको जमिनमा ऐतिहासिक तथा पुरानो भागुडुब्बा बजार लाग्दै आएको छ । करिब १५ कट्ठा जमिनमा फैलिएको भागुडुब्बा बजारमा ५९ जनाले व्यापार व्यवसाय गर्दै आएका छन् । उनीहरुले एक धुरको बार्षिक ५० रुपैयाँका दरले विद्यालय व्यवस्थापन समितिलाई रकम बुझाउने गरेका छन् । बजार क्षेत्रमा रहेको जमिनमा बसेका पसलहरुबाट विद्यालयलाई बार्षिक आम्दानी हुने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्