बिर्तामोड, पुष २१ ।झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मोरङको कानेपोखरीमा पाँच दिने आधारभूत श्रृंगार तालिम सुरु भएको छ ।

संस्थाको शिक्षा उपसमितिको आयोजनामा मोरङ जिल्लाअन्तर्गतका सेवाकेन्द्रहरुका शेयर सदस्यलाई लक्षित गरेर तालिम आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । संस्थामा आबद्ध महिला शेयर सदस्यलाई आत्मनिर्भर बनाउँदै उद्यममा जोड्न यस्ता किसिमका तालिम संस्थाले आयोजना गर्दै आइरहेको कार्यकारी प्रमुख बस्नेतको भनाई छ ।

उनले पुँजी अभावकै कारण हातमा सिप भएर पनि व्यवसाय सञ्चालनमा समस्या भोग्दै आएका शेयर सदस्यलाई संस्थाले लगानी गर्ने बताए । तसर्थ पनि तालिम सही तबरले इच्छाशक्ति लगाएर लिन सहभागीलाई आग्रह गरे ।
तालिममा मोरङ जिल्ला सेवाकेन्द्रहरुबाट ३४ जना महिला शेयर सदस्यहरु सहभागी छन् । सहभागीलाई जानुकादेवी प्रधान र हृदयकुमारी संग्रौलाले प्रशिक्षण दिंदै छन् ।

यसअघि पनि संस्थाको शिक्षा उपसमितिको आयोजनामा इलामको नेपालटारमा इलाम जिल्लाअन्तर्गतका शेयर सदस्यहरुलाई श्रृंगार तालिम प्रदान गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।
त्यसैगरी संस्थाले यसअघि खुदुनाबारीमा कपुरधुप बात्ती निर्माण तालिम सम्पन्न गरिसकेको संस्थाका शिक्षा उपसमिति संयोजक मेहरमान बिष्टले बताए ।

शिक्षा उपसमितिका सदस्य बद्री प्याकुरेलले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि कार्यकारी प्रमुख बस्नेतले प्रकाश पारेका थिए ।

झापा, मोरङ, इलाम र पाँचथर गरी ४ जिल्ला कार्यक्षेत्र रहेको सिम्रिक साकोसको ३ अर्ब २१ करोड माथिको वासलात छ भने ४६ वटा सेवाकेन्द्रहरु मार्फत शेयरसदस्यहरुलाई सेवा सुविधा दिईरहेको संस्थाले जनाएको छ । वित्तीय कारोबारसंगै संस्थाले कृषि, शिक्षा, स्वास्थ्यसहित सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्थाका आइटी सहायक बिजय पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्