झापा, पुष २३ । काठमाडौंमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ ।
आज बिहान ६ बजेर ५० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुरलगायतका जिल्लामा धक्का महसुस गरिएको छ । झापामा पनि महसुस गरिएको छ । सो भूकम्पबाट नेपाल , भारत , चीन , भुटान र बंगलादेश प्रभावित भएको जनाइएको छ ।
चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले आज बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।चीनको सरकारी च्यानल सीसीटीभीका अनुसार तिब्बतको सिगात्से शहरमा ६.९ तीव्रताको भूकम्प गएको हो ।
बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ । बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए ।
लामो समयपछि काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस भएको हो। भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।