झापा , पुष २३ । झापाको बिर्तामोडबाट चन्द्रगढी जोड्ने निर्माणाधिन सडकखण्ड दिनभरिको अवरोधपछि साँझपख खुलेको छ ।

सडक ठेक्का लिने निर्माण व्यवसायीसंग सहमति भएपछि गरामनीका उपभोक्ताहरुले अवरोध हटाएका हुन् । निर्माण व्यवसायी केदार गिरीले सो सडकखण्डमा धुलो उडेकाले धुलो नियन्त्रणका लागि पाँच दिन पानी हाल्ने सहमति भएको छ । त्यस्तै बजेटको अभावमा निर्माण व्यवसायीले काम गर्न नसकेको अबस्थामा त्यसका लागि सभामुख देवराज घिमिरेसमक्ष ज्ञापनपत्र बुझाउँदै अलपत्र सडक पुनर्निर्माणका लागि पहल गर्न अनुरोध गर्ने सहमतिसमेत भएको छ ।

सडक लथालिङ्ग अबस्थामा छोडी सडकमा पूर्णरुपमा धुलो धुवाँ उडेका कारण गरामनी क्षेत्रका आम उपभोक्ताहरुको स्वास्थ्यमा समस्या भएपछि उनीहरुले मध्यान्हदेखि सडक अवरुद्ध पारेका थिए । जनप्रतिनिधिहरु बिर्तामोड ७ का अविरल कृष्ण खरेल , ८का अजय कार्की , ९ का हरिप्रसाद चम्लागाँई , उपभोक्ताका तर्फबाट हरिकुमार पाण्डे , राजकुमार संग्रौला , अनिल गौतम , किशोर भट्टराईलगायतको रोहवरमा निर्माण व्यवसायी गिरीले संझौता गरेका हुन् ।

उपभोक्ताहरुले सडकमा फलामको बिजुलीको पोल राखी बिर्तामोड–भद्रपुर सडकखण्ड अबरुद्ध पारेका थिए । सवारी साधनहरुले भने बैकल्पिक सडकबाट आवतजावत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्