झापा,पुष २४ । पर्यटन प्रवद्र्धन गर्न ‘निसान पदमार्ग’ मा आजदेखि तीनदिने पदयात्रा गरिँदैछ । नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएसँगै पदयात्राको कार्यक्रम आयोजना गरिएको इलामस्थित नेपाली सेनाको रणशार्दूल गणले जनाएको छ ।
नेपाल–भारत सिमाना जोडिएको मेची नदीको मुहानबाट इलाम सदरमुकामस्थित निसान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गमा पदयात्रा गरिने रणशार्दूल गणका प्रमुख प्रल्हाद घलेले जानकारी दिए । तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर पदयात्रा तयारी गरिएको हो ।
आज बिहान मेची बजारबाट पदयात्राको औपचारिक थालनी हुनेछ । यही पुस २६ गतेसम्म नेपाली सेना, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालाको टोलीले पदयात्रा गर्ने भएको उनले जानकारी दिए । पदयात्राका लागि स्थानीयले ठाउँठाउँमा स्वागतको तयारी गरेका छन् । पदमार्गअन्तर्गत पर्ने सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकाका विभिन्न स्थानमा पदयात्रीको स्वागतका लागि स्थानीय जातजातिको झाँकीसहित स्वागतका कार्यक्रम तय गरिएको प्रमुख घलेले बताए ।
रणशार्दूल गणको पहलमा गत वर्षदेखि निसान पदमार्ग पहिचान गर्न थालिएको थियो । त्यसका लागि सूर्योदय नगरपालिका, माईजोमगाई गाउँपालिका र इलाम नगरपालिकाले सहयोग गरेको थियो । पुष २४ देखी मेची बजारबाट सुरु भएको पदयात्रा सूर्योदय नगरपालिकाको पूर्णेडाँडामा पुस २५ गते उद्घाटन गरी माईजोगमाईको नामसालिङस्थित हात्तीटारमा बास बस्ने कार्यक्रम छ ।
यही पुस २६ गते बिहान नामसालिङबाट पुनः सुरु भएको पदयात्रा माईबेनी हुँदै अहिले निसान र तोप राखिएको इलाम नगरपालिका–७ स्थित माईस्थान मन्दिरमा पदयात्राको समापन गरिने कार्यक्रम तय भएको इलाम नगरप्रमुख केदार थापाले बताए । रणशार्दूल गणको अगुवाइमा तीन पालिकाले संयुक्त रूपमा आयोजना गरेको पदयात्रामा करिब एक सयको हाराहारीमा सहभागी हुने रणशार्दूल गणले जनाएको छ ।