झापा, पुष २४ । झापा, सुनसरी, इलाम र धनकुटाबाट लागूऔषधसहित तीन महिला र तीन पुरुष पक्राउ परेका छन् ।
गएराति झापाको मेचीनगर नगरपालिका–६ मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ३१ बर्षीय दिलप्रसाद राई र दमक–२ की २९ बर्षीया स्मारिका नेम्बाङलाई ४ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
त्यसैगरी वडा प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान–१२ मा डेरा गरी बस्दै आएकी २२ बर्षीया सम्झना लिम्बूलाई निषेधित औषधी १८२ चक्की र गाँजा १०० ग्रामसहित पक्राउ गरेको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय भेडेटारले चेकजाँचको क्रममा १६ किलोग्राम गाँजा बोकेको को. ३३ प ९३०७ नम्बरको मोटरसाइकलसहित मोटरसाइकलमा सवार सहिदभूमि गाउँपालिका–७ का ३९ बर्षीय निकेन्द्र राई र उनकी श्रीमती ३० बर्षीया निशा राईलाई पक्राउ गरेको छ ।
त्यस्तै इलामको देउमाई नगरपालिका–३ का ५० बर्षीय रमेश अधिकारीलाई औषधी ९२ चक्की, ब्राउनसुगर १ ग्राम ७४० मिलिग्रामसहित इलाका प्रहरी कार्यालय मंगलबारेले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।