द्रोण अधिकारी,
भद्रपुर । बिरलै राजनीतिक नेतृत्वको पाइला पर्ने नेपालकै होचो स्थान झापाको कचनकवलमा बुधवार निकै तामझाम र सिंगारपटारको दृष्य देखिन्थ्यो ।
पहिचान पाउन सके नेपालका अतिव्यस्त पर्यटकीय स्थलभित्र पर्नसक्ने कचनकवलको स्तम्भ राजनीतिले समेट्न नसकेको अभागी भूगोलमा भएको प्रष्ट हुने आधार भौतिक पूर्वाधारका संरचनाको टिठलाग्दो परिवेश र सडकको दुरावस्थाले प्रष्ट्याइरहेको थियो ।
राजनीति गर्नेहरूले धेरै पटक यही होचो भूगोललाई देखाएर निर्वाचन जिते पनि होलान् तर, त्यस भूगोलले कहिलै जितेको अनुभूति नागरिक स्तरमा गर्न सकेको छैन ।
व्यवस्थित सडक, शुद्ध पिउने पानीको उचित प्रवन्ध, कचनकवलको पहिचानको रूपमा रहेको स्तम्भको मर्मत संहारको व्यवस्थापन मात्र राजनीतिक नेतृत्वले गरिदिने हो भने पिछडिएको क्षेत्रको पहिचानबाट कचनकवलले मुक्ति पाउने थियो ।
काँग्रेसको जागरण अभियानको उद्देश्य सायद यहि भए, अलपत्र केचना रिङरोड र स्तम्भ निर्माणले गति पाउला । होइन भने चर्चाका लागि एक दिन झिलिमिली केचना स्तम्भ बनिएर बिगत जस्तै अलपत्र कचनकवल रहला ।
यसैबीच नेपाली कांग्रेस कोशी प्रदेशको आयोजनामा नेपालकै होचो स्थानको पहिचान बनाएको झापाको कचनकवलबाट संसारकै अग्लो स्थान सगरमाथासम्मको जागरण अभियान सुरू गरिएको छ । नेपालको सबैभन्दा होचो भूभाग रहेको दक्षिणी झापाको कचनकवल स्तम्भबाट सो अभियान सुरू गरिएको हो ।
केचना—सगरमाथा जागरण अभियान नाम दिइएको पदयात्राको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेताहरूले अभियानको शुभारम्भ गरेका थिए ।
अभियानमा कोशी प्रदेशका १४ जिल्लाका सभापतिसहित नेता कार्यकर्ता सहभागी भएका थिए । अभियानमा स्थानीय स्तरका धेरै नेता कार्यकर्ताको समेत उपस्थिति रहेको थियो ।
सो अभियान आगामी असार २० गते विश्वकै अग्लो चुचुरो सगरमाथामा पुगेर समापन गरिने नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले बताए ।
उनले संगठन सुदृढीकरण, ऐतिहासिक खोज, सम्वृद्धिको आधार, जलवायु परिवर्तन प्रभाव र पहिचानको उद्देश्य राखेर अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।
अभियानले नेपालको होचो भूभाग कचनकवलको पहिचान र समग्र विकासलाई समेत अगाडि बढाउन सहयोग पुग्ने बिश्वास राखिएको छ । अभियान सात महिनासम्म चल्ने छ ।
समुन्द्र सतहदेखि ५८ मिटर उचाईमा नेपालकै होचो भूभागमा कचनकवल स्तम्भ रहेको छ ।सायद राजनीतिक रूपमा अभियानको थालनी भएको पहिलो कार्यक्रम कचनकवल स्तम्भले पाएको भए पनि यहाँको विकासका लागि काँग्रेसले सही बाटो लिन नसकेको स्थानीयको दुखेसो छ । यही क्षेत्रबाट एमाले, काँग्रेस र राप्रपाका नेताहरू राजनीतिक रूपले स्थापित भए पनि नेपालको होचो भूगोलको पहिचान उच्च बनाउन कुनै पनि नेताले योगदान भने दिन सकेका छैनन् ।
केचनाको पछौटेपनलाई राजनीतिक मसला बनाएर अग्रगामी विकासको नारा चर्काउँदै निर्वाचन जिते पनि यस क्षेत्रमा सडक, बिजुली बत्ती, पिउने पानी, शिक्षा, स्वास्थ्य र रोजगारका समस्या बिगत र वर्तमानमा फरक हुन सकेका छैनन् ।
सिमान्त बस्ती केचनामा व्यवसायिक कृषिको संरक्षण हुन नसक्दा भारतीय कृषि उपजले अतिक्रमण गर्दा नेपाली कृषक पलायन भइहेका छन् । कृषिमा मल, बीउ, सिंचाइमा छिमेकी भारतको कृषि उपजसित यहाँका कृषकले प्रतिष्पर्धा गर्न सकेका छैनन् । काँग्रेसको जागरण अभियानले कचनकवलका समस्या पहिचान गर्ला कि नगर्ला ? नागरिकको प्रश्नले उत्तर खोजिरहेको छ ।