झापा,पुष २६ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचीकृत भएका बेरोजगार युवाको संख्या आठ लाखको हाराहारी रहेकामा चालु आर्थिक वर्ष २०८१÷८२ को करिब पाँच महिनामा एक हजार १३८ मात्रै रोजगारीमा आबद्ध भएका छन् । सरकारले आन्तरिक रोजगारीका कार्यक्रमको दायरालाई फराकिलो बनाउन नसक्दा आन्तरिक रोजगारी सिर्जनामा आकर्षण हुन नसकेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमका अनुसार चालु आव २०८१÷८२ मा ६० हजार बेरोजगार युवालाई सय दिनको रोजगारी दिने लक्ष्य रहे पनि पुष २४ सम्म एक हजार १३८ युवा उक्त कार्यक्रम अन्तर्गत रोजगारीमा आबद्ध भएका छन् ।
चालु आवमा देशभरबाट सूचीकृतमध्ये ६० हजारलाई मात्रै न्यूनतम एक सय दिनको रोजगारी दिने र पाइहाले पनि छोटो अवधिको हुने भएकाले यो कार्यक्रमप्रति युवा आकर्षित नभएको प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक डण्डुराज घिमिरेले बताए । सरकारले पटक पटक सुधारको घोषणा गरे पनि यस कार्यक्रमले अपेक्षित रूपमा रोजगारी सिर्जना गर्न नसकेको पछिल्लो करिब पाँच महिनामा रोजगारीमा संग्लन भएको संख्याले पुष्टि गर्छ । यस पटक ४६८ वटा पालिकामा कार्यस्थलमा आधारित ५० दिने तालिम सञ्चालन भइरहेकाले पनि हाल प्रगति कम देखिएको उनले जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चालु आवमा लिएको लक्ष्यको ५० प्रतिशत चैतको पहिलो सातासम्म रोजगारीमा संलग्न हुने उनको भनाइ छ । उनका अनुसार हाल धेरै जसो पालिकामा आयोजना छनोट सकिएको छ । बेरोजगारलाई तालिमसहित न्यूनतम रोजगारी दिने उद्देश्यसाथ २०७५ फागुन १ देखि सुरु भएको यस कार्यक्रमका लागि यस पटक ६० हजारलाई न्यूनतम एक सय दिनको रोजगारी दिने लक्ष्य रहेको छ । मन्त्रालयका अनुसार यो कार्यक्रमका लागि छ अर्ब नौ करोड ४५ लाख रुपियाँ विनियोजन गरिएको छ । पहिलो पाँच महिना (साउन–पुस २४ गते) सम्म २१ करोड सात लाख ९६ हजार मात्रै खर्च भएको छ । सरकारले यो वर्ष विपत्बाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनस्र्थापनामा पनि कार्यक्रमको बजेट खर्च गर्न सक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्