झापा,पुष २६ । राष्ट्रिय परिचयपत्रका आधारमा पनि माघ १ देखि बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ । यसअघि बैंक खाता खोल्न नागरिकता अनिवार्य थियो । अब राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका आधारमा खाता खोलिदिन बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक र लघुवित्त वित्तीय संस्थालाइ राष्ट्र बैंकले परिपत्र जारी गरेको हो ।
‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ देखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।
माघदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य भए जस्तो देखिए पनि त्यसकै आधारमा मात्र बैंक खाता खोल्ने भन्ने आशय नरहेको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताए । ‘हाल सबै नागरिकसँग राष्ट्रिय परिचय हुन्छ भन्ने छैन, यसकारण बैंक खाता खोल्दा त्यसलाई अनिवार्य गरिएको होइन,’ उनले भने, ‘नागरिकताका आधारमा बैंक खाता खोल्नू भन्ने निर्देशन यथावत् छ, अब राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर दिए पनि बैंकले खाता खोलिदिनुपर्छ ।’ सरकारले सामाजिक सुरक्षालगायत सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नुपर्नेछ ।
त्यस्तो खाताबाट रकम झिक्नुअघि यस निर्देशनबमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि (केवाईसी) भर्नुपर्ने निर्देशन पनि परिपत्रमा छ । सरकारले सामाजिक सुरक्षालगायत सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नुपर्नेछ । त्यस्तो खाताबाट रकम झिक्नुअघि यस निर्देशनबमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।