झापा, पुष २७ । राष्ट्रिय भाक्का दिवसलाई झापाका पालिकाहरुले समेत मनाउने भएका छन् ।

भाक्का दिवसका दिन सार्वजनिक विदा दिँदै आएका जिल्लाका पालिकाहरुले कार्यक्रम आयोजना गर्न लागेका हुन् । गत वर्ष झापाका तीन पालिकाले विदा दिएका थिए । आदिवासी राजवंशी समुदायको बिशेष खाजाको परिकारको रुपमा लिइने भक्का अर्थात भाक्काको प्रबर्द्धनका लागि हरेक बर्ष पुष २९ गते झापामा उत्सवको रुपमा मनाइने भाक्का दिवसको अवसर पारेर कचनकवल गाउँपालिका, हल्दिवारी गाउँपालिका र भद्रपुर नगरपालिकाले गत वर्ष विदा दिएका थिए ।

यस वर्ष पनि पुष २९ गते सोमवार कचनकवल गाउँपालिकाले आठौ राष्ट्रिय भाक्का दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ भने अन्य पालिकाहरुले विदा दिने तयारी गरेका छन् । यस वर्ष दमक नगरपालिकाले पहिलो पटक कार्यक्रम गर्ने भएको छ ।

दमक नगरपालिकाले स्थायी ठेगाना दमक भई दमक नगरभित्र भाक्काको व्यवसाय गरेर आयआर्जन गरिरहेका भाक्का व्यवसायीहरुलाई प्रोत्साहन गर्ने भएको छ । पुष २९ गते दमक नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले सो कार्यक्रम गर्ने भएको छ ।

भाक्का दिवसको अवसरमा विगत एक सातादेखि लगातार कार्यक्रम हुँदै आएको छ । मुख्य कार्यक्रम पुष २९ गते बिर्तामोड ३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा हुने राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए । त्यस्तै पुष २८ गते उत्तम राजवंशी जिल्ला अध्यक्ष भएको अर्को राजवंशी समाज विकास समितिले भद्रपुरमा कार्यक्रम गर्ने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्