झापा, पुष २७ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ ।

यस अवसरमा कन्काई नगरपालिकाको गेट अगाडि रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको छ । आज बिहान पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिएको नगर प्रमुख राजेन्द्र पोखरेलले बताए । २०७८ सालमा कन्काई नगरपालिकाले आफ्नो लगानीमा साढे ७ फुटको ढुङ्गाको शालिक निर्माण गरेको हो ।

त्यस्तै पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा हल्दिवारी गाउँपालिकाले आज कार्यक्रम गर्ने भएको छ । पृथ्वीनारायण शाहको तस्बीरमा माल्यार्पण तथा दीप प्रज्वलन कार्यक्रम रहेको जनाइएको छ ।

त्यस्तै अरिदमन गण चारआली व्यारेकमा सलामीसहित पृथ्वीनारायण शाहको तस्बीरमा माल्यार्पण गरिएको छ । त्यहाँ तीन दिनदेखि दीप प्रज्वलन कार्यक्रम चलिरहेको गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिए ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा अरिदमन गणमा विद्यार्थीहरुका लागि खेलकुद प्रतियोगिता संचालन गरिएको थियो । नेपाली सेनासंग सहकार्य गरेका झापा जिल्लामा रहेका विद्यालयहरुलाई सहभागी गराई गत मंसिर ३० देखि पुष २ गतेसम्म फुटबल , भलिवल,हाजिरी जवाफ , कविता, वक्तृत्वकला ,चित्रकलालगायतका प्रतियोगिता संचालन गरिएको प्रमुख सेनानी बस्न्यातले जानकारी दिएका छन् । प्रतियोगितामा झापा मोडल , एरा एभरग्रीन, टावर टेम्पल ,इस्ट होराइजन र स्वस्तिका शिशु सदनका विद्यार्थीहरु सहभागी थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्