झापा,पुष २६ । सरकारले १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप अभियानमा प्रदान गर्ने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी )खोप सुरक्षित रहेको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाले जनाएको छ ।
खोप शाखाका प्रमुख डा.अभियान गौतमलले यही माघ २२ देखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा दिइने खोप सुरक्षित रहेको जानकारी दिएका छन् ।
डा.गौतमका अनुसार नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत निःशुल्क प्रदान गर्ने सबै खोप विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त हुनुका साथै नेपालको औषधी व्यवस्था विभागले स्वीकृत गरेको हुनाले यो खोप पनि अत्यन्तै सुरक्षित र प्रभावकारी छ । डा.गौतमले एचपिभी खोप १४४ देशहरुको राष्ट्रिय खोप तालिकामा समावेश गरी किशोरीहरूलाई दिइरहेको र यसको प्रभावकारीता शतप्रतिशतसम्म रहेको विभिन्न अध्ययनले देखाइसकेको जानकारी दिएका छन् ।