झापा, पुष २८ । जिल्ला सहकारी संघ झापाले लगानी गरेको १५ करोड भन्दा बढी रकम जोखिममा परेको छ ।
सहकारी संघले जिल्लाका विभिन्न सहकारी संस्थालाई लगानी गरेको १५ करोड २ लाख ७० हजार रुपैयाँ जोखिममा परेको हो । जिल्लाका विभिन्न १५ वटा सहकारी संस्थाले संघबाट लिएको ऋण नतिरेका हुन् । जिल्ला सहकारी संघको २८ औ वार्षिक साधारण सभामा प्रस्तुत लेखा प्रतिवेदनअनुसार ती सहकारीहरुले लिएको ऋणको गत असार मसान्तसम्म भाखा नाघेको सावाँ १० करोड ५५ हजार ५३० रुपैयाँ पुगेको छ ।
यसरी कर्जा चलाएर सावाँ र व्याज नतिर्ने सहकारी संस्थाको सूचीमा पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था सबैभन्दा पहिलो नम्बरमा छ । कमल गाउँपालिकामा मुख्य कार्यालय रहेको पूर्व नेपाल सहकारी संस्थाले लगेको ६ करोड रकमको सावाँ र व्याज भुक्तानी नगरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै जय नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले दुई करोड २७ लाख रुपैयाँको सावाँ र व्याज तिरेको छैन । त्यस्तै गरामनी कृषि सहकारी संस्था बिर्तामोडको दुई करोड, पहिलो पाइला बहुउद्देशीय सहकारी संस्था बिर्तामोडको ९० लाख, समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडको ८० लाख, सतासी महिला मौरीपालन सहकारी संस्था शिवसताक्षीको ७५ लाख, संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी संस्थाको ६० लाख, पूर्वार्ध कृषि सहकारी संस्था अर्जुनधाराको ५० लाख, मयुर बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको ३० लाख, श्री सहकारी संस्था राजगढको ३० लाख, देउराली बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको ३० लाख, साइनो बचत तथा ऋण सहकारी संस्था शिवसताक्षीको २० लाख, सृजनशील बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको १५ लाख, उत्कृष्ट कृषि सहकारी संस्था हल्दिवारीको १० लाख र जनएकता कृषि सहकारी संस्था कमलको १० लाख रुपैयाँको भाका नाघेको छ ।
संघले लगानी गरेका कर्जामध्ये किस्ता अनियमित भएका, भाखा नाघेका र व्याज पनि प्राप्त नभएका कारण कर्जाको अबस्था गंभीर रहेको जिल्ला सहकारी संघका लेखा परीक्षण समितिका संयोजक चुडामणि ओझाले बताए ।
लगानी गरेको रकम सहकारीहरुले नतिरेपछि ६ वटा सहकारीमाथि संघले मुद्धा नै दायर गर्नुपरेको छ । तीमध्ये दुईवटाले ऋण तिरेका छन् भने चारवटाले तिरिसकेका छैनन् । पूर्वार्ध कृषि सहकारी संस्था अर्जुनधारा , जनएकता कृषि सहकारी संस्था कमल , साइनो बचत तथा ऋण सहकारी संस्था शिवसताक्षी र पहिलो पाइला बहुउद्देश्यीय सरकारी संस्था भद्रपुरमाथि संघले मुद्धा दायर गरेकोमा पूर्वार्ध , जनएकता र साइनोसंगको मुद्धामा संघको पक्षमा फैसला भएको र पहिलो पाइलासंगको मुद्धा चलिरहेको लेखा संयोजक ओझाले जानकारी दिएका छन् ।