झापा,पष २८ । त्रिभुवन विश्वविद्यालयमा कार्यालय सहायक (खरिदार) देखि प्रशासक (सचिव) स्तरका साढे ८ सय कर्मचारी पदपूर्ति प्रक्रिया डेढ महिनादेखि सेवा आयोगमा रोकिएको छ । त्रिवि कार्यकारी परिषद्ले ५ सय कर्मचारी खुला प्रतिस्पर्धा र ३ सय ५३ जना आन्तरिक प्रतिस्पर्धा तथा बढुवा प्रक्रियाबाट नियुक्त गर्न आयोगलाई सिफारिस गरेको थियो । गत मंसिर १८ मा सिफारिस गरे पनि केही कर्मचारीको दबाबमा डेढ महिनादेखि विज्ञापन प्रकाशन रोकिएको हो ।
विश्वविद्यालयलाई आवश्यक कर्मचारी उपकुलपतिले अध्यक्षता गर्ने परिषद्ले पद र संख्या खुलाई माग गर्ने व्यवस्था छ । मागबमोजिम आयोगले विज्ञापन आह्वान गरी परीक्षाबाट पदपूर्ति गर्छ । तर, बढुवाका दाबेदार केही उच्च तहका कर्मचारीले रिक्त दरबन्दी लुकाएर सीमित संख्यामा मात्रै पदपूर्ति गर्न लागिएको भन्दै विज्ञापन सार्वजनिक नगर्न दबाब दिएको त्रिवि स्रोतले बतायो । त्रिवि कर्मचारी संघले समेत रिक्त सबै दरबन्दीमा बढुवा र आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दबाब दिँदै आएको छ ।
परिषद्को सिफारिसअनुसार सेवा आयोगले विज्ञापन खोल्ने तयारी गरेको जानकारी पाएको त्रिविका रजिस्ट्रार केदार रिजालले बताए । ‘कर्मचारी अभाव छ,’ उनले भने, ‘त्यसलाई बुझेर सेवा आयोगले छिट्टै विज्ञापन आह्वान गरी कर्मचारी पदपूर्ति गर्नेमा आशावादी छौं ।’ त्रिविमा ३५ प्रतिशतभन्दा बढी शिक्षक, कर्मचारीको दरबन्दी रिक्त रहेको तथ्यांक छ । नियमित विज्ञापन प्रकाशन र परीक्षा सञ्चालन गरी पदपूर्ति गर्न आयोग असमर्थ हुँदै आएको छ । स्थायी प्रकृतिका शिक्षक, कर्मचारी नियुक्ति नियमित नहुँदा अभाव टार्न आंशिक, करार र ज्यालादारीमा नियुक्त गर्ने प्रवृत्ति बढ्दो छ ।
आयोगले डेढ महिनासम्म विज्ञापन नगरेकोमा त्रिवि उपकुलपति केशरजंग बराल, रेक्टर खड्ग केसी र रजिस्ट्रार रिजाललगायत पदाधिकारी रुष्ट बनेको स्रोतले जनायो । बढुवा दाबेदार कर्मचारीले निश्चित पदमा मात्रै विज्ञापन सार्वजनिक गर्ने तयारी गरेपछि अदालत जाने भन्दै धम्की दिएको सेवा आयोगका एक कर्मचारीले बताए । दबाब र धम्कीको कारण आयोगका अध्यक्ष घनश्याम भट्टराईले विज्ञापन खुलाउने निर्णय गर्न नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्