भद्रपुर, माघ ६ । झापाका नयाँ प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जनमैत्री प्रशासनका लागि विचौलिया र अनैतिक गतिविधि गर्नेबिरूद्ध निर्मम भएर लाग्ने बताएका छन् ।


केही दिन अगाडि सर्लाहीबाट जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्व सम्हाल्न आइपुगेका प्रजिअ अधिकारीले सरकारी कार्यालय अगाडि बसेर बिचौलियाको भूमिका खेल्नेदेखि सडक अतिक्रमण गर्दै नियमबिपरित व्यापार व्यवसाय गर्ने कार्यले सर्वसाधारणका काममा बाधा पुगेको गुनासो आउने गरेकाले त्यस्ता कार्य रोक्न निर्मम भएर लाग्ने बताएका हुन् ।

आफ्नै कार्यकक्षमा झापाली सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै प्रजिअ अधिकारीले खुल्ला सिमानाको फाइदा उठाउँदै हुने गरेका चोरी तस्करी, लागूऔषध कारोवारजस्ता आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी प्रशासन प्रतिबद्ध भएर लाग्नेसमेत बताए । जिल्लाका सुरक्षा निकायका प्रमुखहरू राखेर प्रजिअ अधिकारीले जनमैत्री कामको वातावरण निर्माण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

उनले प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले दुःख नपाउने वातावरण बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिँदै बिचौलियासित साँठगाँठ नगर्न सचेतसमेत गराएका छन् ।

जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वारदेखि जिल्ला समन्वय समितिको कार्यालयसम्मको सडकमै खुल्ला व्यापार हुँदा दिउँसोको समयमा सर्वसाधारणलाई आवतजावतमा समस्या छ । कुनै पनि कार्यालयमा काम लिएर आउने सेवाग्राहीलाई सडकमा रहेका बिचौलियाले तानातान गरी बाधा गर्ने गरेको गुनासो सर्वसाधारणको रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्