झापा, माघ ७ । वर्षौदेखि बन्द रहेको झापाको गौरीगञ्जस्थित छोटी भन्सार कार्यालय आठमौजा संचालन हुने भएको छ ।

कोरोना कालदेखि बन्द रहेको त्यस छोटी भन्सार कार्यालयलाई यसै साता संचालनमा ल्याउने तयारी थालिएको हो । मेची भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालले हिजो छोटी भन्सार कार्यालयको अबस्था बुझेर यसै सातादेखि संचालन गर्ने बताए । उनले केही पूर्वाधारको काम गर्नुपर्ने भएकाले त्यसलाई पूरा गरी संचालनमा ल्याउने जानकारी दिए । आफू झापाको बासिन्दा भएकाले आफ्नो कार्यकालमै छोटी भन्सार आठमौजालाई संचालन गरेरै छाड्ने उनले बताए ।

यही माघ १३ गते भन्सार दिवस रहेको छ । भन्सार दिवसको अवसर पारेर त्यस छोटी भन्सार कार्यालयलाई संचालन गर्ने योजना रहेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले बताए । मेची भन्सार कार्यालयअन्तर्गत ७ वटा छोटी भन्सार रहेका छन् । कतिपय छोटी भन्सारको नामोनिशान नै छैन ।


भारतको विहार तथा बंगाल राज्यसँग जोडिएको झापा जिल्लामा काँकरभिट्टा र भद्रपुर गरी दुई वटा मुख्य नाका छन् । दुवै नाकामा मूल भन्सार रहेका छन् । जिल्लाका अन्य नाकाहरूमा छोटी भन्सार कार्यालयहरू रहेका थिए । तर, काँकरभिट्टा र भद्रपुर नाकाबाहेक अन्य भन्सारहरु लामो समयदेखि कोरोना महामारीका कारण बन्द छन् ।

बिहारको फत्तेपुर नाकासँग जोडिएको छोटी भन्सार आठमौजा संचालन हुँदा माई पश्चिमका बासिन्दालाई सहज हुने भएको छ । छोटी भन्सार बन्द भएपछि सीमाबाट अवैध आयातनिर्यात हुने क्रम बढ्दै गएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्