झापा, माघ १० । पूर्वमुख्यमन्त्री तथा कांग्रेसको कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि मुक्का हान्ने नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरु आज रिहा हुँदैछन् ।

अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले मुद्धा दायर गरेका उनीहरु जिल्ला प्रशासन कार्यालयको आदेशमा रिहा हुन लागेका हुन् । अहिले नेपाल विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारीहरु शिवसताक्षी ११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठसंग प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बयान लिइरहेका छन् । बयानपछि उनीहरुलाई धरौटीमा रिहा गर्ने बुझिएको छ ।

अभद्र व्यवहार गरेको कसूरमा माघ ६ गते इलाका प्रहरी कार्यालय बिर्तामोडले ३ दिनको म्याद लिएर उनीहरुमाथि मुद्धा दायर गरेको थियो ।

पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता थापामाथि माघ ५ गते साँझ कुटपिट भएको थियो ।नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको बार्षिक साधारण सभाबाट फर्किदै गर्दा साँझ करिव ७ बजे कन्काई नगरपालिकाको जुकेखाडी कल्भर्टनजिक थापामाथि उनीहरुले मुक्का हानेका थिए । बा १ झ ६५३ नं को गाडीमा घर फर्किदै गरेका अर्जुनधारा ७ निवासी थापामाथि बा १ ञ १८७० मा सवार विद्युत प्राधिकरण सुरुङ्गाका ती कर्मचारीहरुले कुटपिट गरेका थिए । कुटपिटबाट थापा घाइते भएका थिए । उनको देब्रे आँखा सुन्निएको थियो ।उनलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा भर्ना गरिएको थियो ।

विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारी सवार गाडीले पूर्वमुख्यमन्त्री थापा चढेको गाडीलाई सुरुङ्गा पुलनजिक डाइभर्सनमा साइड नदिएको भन्दै विवाद भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्