कुमरखोद , माघ ११ ।झापा गाउँपालिकाले २९१ जना विद्यार्थीहरुलाई शुक्रवार साइकल वितरण गरेको छ ।

पालिकाले आफ्नो पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का सम्पूर्ण विद्यार्थीहरुलाई साइकल वितरण गरेको हो ।

पालिकाको आर्थिक वर्ष २०८१÷८२ को बजेटबाट पालिका भवनमा आयोजित कार्यक्रममा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई जनही ७ हजार रुपैयाँ बराबरको साइकल वितरण गरेको हो ।

डिल्लीराज माविका ७७ जना , कुवाडीदेवी माविका १३ जना , महेन्द्र माविका २४जना , जनता माविका १४० र जनकल्याण माविका ४२ जना गरी २९१ जना विद्यार्थीहरुलाई साइकल वितरण गरिएको कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बताइन् । झापा गाउँपालिकामा सामुदायिकतर्फ मावि ५ वटा , निमावि ५ वटा र प्रावि स्तरका ११ वटा गरी कुल २१ वटा विद्यालयहरु रहेका छन्।

पालिकाले विपन्न परिवारलाई लक्षित गरी ल्याएको यो कार्यक्रमले विद्यार्थीलाई आवतजावतमा सुविधा पुग्नुका साथै विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि हुने,विद्यार्थीको हौसलामा वृद्धि भई विद्यार्थीहरु नियमित विद्यालय आउने कावा अध्यक्ष थपलियाले बताइन् ।

त्यसैगरी झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले शिक्षा क्षेत्रमा पालिकाले ३ करोडभन्दा बढी रकम विनियोजन गरेको बताए । शिक्षाकै लागि विनियोजित बजेटबाट साइकल खरिद गरिएको उनले बताए । थपलियाले पहिलाको साइकल रहेकाले यसपालि १२लाख ८ हजार रुपैयाँको मात्र साइकल खरिद गरेको जानकारी दिए।

साइकल वितरण कार्यक्रममा शिक्षा शाखाका अम्विका गौतमले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । कार्यक्रममा वडा नं ७ का अध्यक्ष सखिचन्द्र ठाकुर , शिक्षक संघ झापा गाउँपालिका अध्यक्ष जगन्नाथ राजवंशी, नेपाल राष्ट्रिय शिक्षक संगठन झापा गाउँपालिका अध्यक्ष टिकाप्रसाद कट्टेल, विद्यार्थीहरु कुवाडी देवी माविकी रेजिना घोर्साने र जनता माविका राजेश खड्काले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्