भद्रपुर, माघ १६ । भद्रपुर– ९ स्थित स्वर्गद्वारी अन्त्येष्टि घाट व्यवस्थापन समितिको अध्यक्षमा पुनः अम्बिका पोखरेल निर्वाचित भएका छन्।

आज सम्पन्न प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनबाट पोखरेल पुनः अध्यक्षमा निर्वाचित भएका हुन्। यसैगरी वरिष्ठ उपाध्यक्ष डिल्लीराम पोखरेल, उपाध्यक्ष लिलादास घिमिरे,महिला उपाध्यक्ष बिमला गौतम भट्टराई,महासचिव तेजप्रसाद चापागाई नविन,सचिव पानीलाल राजवंशी, महिला सचिव उषा खतिवडा, कोषाध्यक्ष मुरारी पोखरेलसहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ।
घाट व्यवस्थापन समितिका अध्यक्ष पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
सभामा अध्यक्ष पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै पहिलो चरणमा मलामी विश्राम घर तथा तटबन्ध गरी ४३ लाख बराबरको काम सम्पन्न भइसकेको र दोस्रो चरणमा २९ लाख ९८ हजार ७३८ रूपैयाँबराबरको तटबन्धको काम चालु रहेको जानकारी दिए ।
अध्यक्ष पोखरेलले आर्थिक स्रोतका रूपमा चन्दादाता, भद्रपुर नगरपालिका, सदस्यता शुल्क र जनताको तटबन्ध कार्यक्रम रहेको उल्लेख गरेका छन् ।साधारण सभाको अवसर पारेर अन्त्येष्टि घाट निर्माणका लागि आर्थिक सहयोग गर्ने दातालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने शव दाहसंस्कार स्थलको शिलान्यास पनि गरिएको थियो ।
यस्तै आजीवन सदस्यतासमेत वितरण गरिएको थियो । १ लाख ५ हजार १ सय रूपैयाँ प्रदान गर्ने अम्बिका पोखरेललाई संरक्षक सदस्यता तथा ५६ हजार १ सय ५ रूपैयाँ प्रदान गर्ने लिला घिमिरे र ५१ हजार रूपैयाँ सहयोग गर्ने इन्द्र थापालाई विशिष्ट सदस्यता प्रदान गरिएको थियो।
हासचिव लीला घिमिरेले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोज, चन्द्रगढी सेवा समाजका अध्यक्ष नयाँनाथ पाण्डे, समाजसेवी हिराप्रसाद पोखरेललगायतले मन्तव्य राख्दै मृतकको अन्त्येष्टिका लागि घाट आवश्यक रहेको धारणा राखेका थिए ।