झापा, माघ १६ । भारतको कुम्भमेलामा भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलामा बुधबार बिहान भएको भागदौडमा ३० जनाको ज्यान गएको पुष्टि भएको छ । भारतीय अधिकारीहरूले भागदौडमा कम्तीमा ६० जना घाइते भएको जनाएका छन् । अधिकारीहरूका अनुसार मृतकमध्ये २५ जनाको पहिचान भइसकेको छ ।
प्रशासनले साँझसम्म मृत्यु भएकाको संख्या बताएको थिएन । पछि डीआईजी वैभव कृष्णले पत्रकारहरुसंग भने, ‘महाकुम्भमा भएको भागदौडमा ३० जनाको मृत्यु भएको छ । जसमध्ये २५ जनाको पहिचान खुलिसकेको छ । ६० जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।’ उनले बेरा भत्किएर एकमाथि अर्को भक्तजन खस्दा सो दुर्घटना भएको जानकारी दिएका छन् ।