विनोद सापकोटा,
झापा । जंगली हात्तीको उपद्रोबाट झापाको शिवसताक्षी नगरपालिकाको उत्तरीक्षेत्र दशकौंदेखि आतंकित छ ।

यसअघि जिल्लाको साविक बाहुण्डाँगी हालको मेचीनगर सबैभन्दा बढी आतंकित थियो । रतुवामाई बृक्षरोपण आयोजनाको जंगललाई आफ्नो बासस्थान बनाएको हात्ती यतिबेला यहाँको रैथाने हात्तीजस्तै बनेको छ । दिनभरि गाउँ बस्ने र साँझ परेपछि गाउँ पस्ने र मानिसको ज्यानलाई निशाना बनाउने गरेको छ ।
साँझ परेपछि जंगलबाट मानव बस्ती पस्ने हात्तीले राति स्थानीयबासीले लगाएको अन्नबालीमा क्षति पु¥याउने गरेका कारण उनीहरु चिन्तित छन् । वर्षभरि पसिना बगाएर उत्पादन गरेको बालीनाली हात्तीले एकै रातमा नष्ट गरेका कारण आर्थिक क्षति त व्यहोर्नु परेकै छ, त्यसमाथि कुन बेला हात्तीले ज्यान लिने हो भन्ने चिन्ताले स्थानीयबासीहरु वर्षौदेखि आतंकित छन् ।
जंगलबाट आहाराको खोजीमा हिडेका हात्तीले हैरानी दिन थालेपछि शिवसताक्षी नगरपालिकाका उत्तरी बस्तीका स्थानीयहरुले बिगत लामो समय सरकारलाई गुहार माग्दै आएका थिए । हात्तीबाट बालीनाली जोगाउन र मानवीय क्षति रोक्न स्थानीयहरुले बिभिन्न जुक्ति निकाल्दै आएपनि हात्तीको आतंक दिनहँु बढ्दै गएको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनले बताए ।
दिनभरि जंगलमा बस्ने र साँझ परेपछि मानव बस्ती पस्ने हात्तीकै पीरले कतिपय स्थानीय बसाईँ सरि जान थालेका छन् । यतिबेला त छोरीको विवाह गर्न पनि शिवसताक्षी नगरको हात्ती लाग्ने ठाउँ हो कि होइन भनेर केटीका बुवा आमाले सोधखोज गर्न थालेको वडा अध्यक्ष फेउदिनले बताए ।
शिवसताक्षी नगरको हात्ती लाग्ने १, ८, ९, १० र ११ का वडाबासीको एउटै चिन्ता छ– हात्तीबाट ज्यान कसरी जोगाउने ? आहाराको खोजीमा दैनिक मानव बस्तीमा पस्ने हात्तीको ठुलो हुलले यतिबेला पाक्न लागेको तोरी माडिदिने, तरकारीका लागि लगाइएको टमाटर, कोभीलगायतका बाली खाने गरेको स्थानीय राजेन्द्र लिङ्देनले बताए ।
साँझ गाउँ पसेको हात्ती किसानले लगाएको अन्नबाली र उनीहरुले निर्माण गरेका स्थायी संरचनाको ठुलो क्षति गरेर फेरि बिहान जंगलमा फर्कन्छ । रातको समयमा जुनैबेला पनि जंगली हात्ती निर्वाधरुपमा बस्तीमा प्रवेश गर्ने गरेको स्थानीयले बताए ।
धरमपुरको कमलखोला, फूलबारी चोक, डुडामारी, बुद्धचोक, झिलझिले, उपवन, दुधे, याङया चोक, यलम्बर, मिलन, संगम चोकलगायतका नाकाबाट हात्ती गाउँ पस्ने गरेको छ । हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि वडा नम्बर ८ ले एउटा समिति नै गठन गरेर रात्री गस्ती सुरु गर्यो । उक्त गस्तीमा रहेका टोलीले हात्ती गाउँ पसेको सूचना दिने र स्थानीय गाउँलेलाई ज्यान जोगाउन ‘हाई अलर्ट’ मा रहन जानकारी दिने काम गरिरहेको छ । यसैका कारण पनि पछिल्ला दिनमा हातीको आक्रमणबाट मानवीय क्षति भने भएको छैन ।

यतिबेला जंगलबाट बस्ती भित्रिने रैथाने हात्तीले रात परेपछि गाउँ पसेर घरहरु भत्काउने र भण्डारण गरिएको अन्न खाएर नष्ट गरिरहेको छ् । बुधबार वडा नम्बर ८ मा ६ वटा घर हात्तीले भत्काएर भण्डारण गरेका अन्न खाएको छ । किसानहरुकोे पाक्ने बेलाको अन्नपात खाने, कुल्चने र माड्ने हात्तीको सबैभन्दा ठुलो उपद्रो हो ।
बालीनाली सत्यनास बनाएसंगै पछिल्लो समय बस्तीमा जंगली हात्तीले भौतिक क्षति पु¥याउन थालेको छ । हात्ती आएको थाहा पाएपछि गाउँलेले कराउने, चिच्याउने, भाडा वर्तन ठट्टाउने, हात्तीलाई गुलेली, तीर, ढुँगा, मुढा प्रहार गर्ने घटना दिनहुँ बढ्दो छ । स्थानीय जंगबहादुर लिम्बू भन्छन्,‘ हातीलाई मान्छेले अनावश्यक चलाएका कारण उसले पनि मानिस चलाउन थाल्यो ।’
शिवसताक्षी नगरमा विगत एक वर्षमा कम्तिमा १ सय स्थानीयका घर हात्तीले भत्काएको नगरपालिकाको सूचना शाखाले जनाएको छ । नगरका सहायक सूचना अधिकारी डिल्ली नेपालका अनुसार चालु आर्थिक वर्षको यो अवधिमा १० वटा घर हात्तीले भत्काएर आर्थिक सहयोगको निवेदन नगरमा दर्ता भएको छ । कतिपय पीडितले निवेदन नगर्ने गरेको पनि उनले बताए ।
उनले भने,‘ हात्तीले ज्यान तलमाथि पारे नगरपालिकाले २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । तर, यो आ.व.मा यो रकम भुक्तानी भएको छैन । यसको अर्थ हात्तीले मानवीय क्षति पुर्याएको छैन ।’ भौतिक क्षतिका लागि घटना र क्षतिको विवरण हेरेर पालिकाले आर्थिक सहायता दिने गरेको उनले बताए ।
शिवसताक्षीबासीले सरकारलाई हात्तीको समस्या हल गरिदिन पटक पटक माग राख्दै आए । तर, अझै पनि त्यस क्षेत्रका बासिन्दा रातभर त्रासमा बस्न बाध्य छन् । हात्तीको आतंकबाट हैरानी व्यहोरिरहेका शिवसताक्षी नगरपालिकाका हात्ती प्रभावित क्षेत्रका टोलबासीले पटक–पटक गरेको अनुरोधलाई सरकारले गम्भीरतापूर्वक नलिएको वडा अध्यक्ष फेउदिनले आरोप लगाए ।
नेपाल सरकारले हात्तीको क्षति न्यूनीकरणका लागि बस्तीमा थामथुमे काम समेत गरेको छैन । स्थानीय हात्ती पीडित भन्छन्, ‘हात्तीको क्षति पछिको राहत वा सहयोग होइन । हात्ती आतंकको स्थायी समाधान गरियोस् ।’ जंगलमा हात्तीको आहाराका लागि वृक्षरोपण गर्न पीडितले सरकारसंग माग गरेका छन् । हात्तीलाई चाहिने अर्थात उसको आहाराका बोट बिरुवा रोपेर जंगलमै हात्तीलाई अल्मल्याउन सकिने विकल्प पनि स्थानीयले सरकारलाई देखाएका छन् । तर तीन तहकै सरकारले पीडितको मागप्रति ध्यान नदिएको पीडितको आरोप छ ।
हात्तीको आक्रमणबाट झापामा एक वर्षमा ७ जनाले ज्यान गुमाएका छन् । शिवसताक्षी, हल्दिबारी, कमल, दमक, भद्रपुर, कचनकवलमा हात्तीले मानिसको ज्यान लिएको हो । यो संख्या डिभिजन वन कार्यालय भद्रपुरले दिएको हो ।
तीन पटक प्रधानमन्त्री भएका केपी ओली, उपप्रधान तथा गृहमन्त्री भएका कृष्णप्रसाद सिटौला, उपप्रधान तथा ऊर्जा मन्त्री भएका राजेन्द्र लिङ्देन र सभामुख देवराज घिमिरेको जिल्ला झापा हो । तर हात्तीको क्षति न्यूनीकरणका लागि जिल्लामा दीर्घकालीन कार्यक्रम नल्याएको पीडितले आक्रोश छ । पीडित भन्छन्, सरकार के अब हामी हात्तीकै आक्रमणबाट मर्नुपर्ने हो ?’