झापा, माघ १७ । बिर्तामोड–५ स्थित बालाजी मन्दिरनजिकै निर्माण गरिएको गायत्री माताको मन्दिरमा प्राण प्रतिष्ठा गर्नुअघि पाँच दिवसीय अनुष्ठान शुरु भएको छ ।

अनुष्ठानको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेका छन् । अनुष्ठानको उद्घाटनअघि कलशमा गंगाजल अर्पण गरेपछि शुरु भएको शोभायात्रा बिर्तामोड नगर परिक्रमापछि गायत्री मन्दिर परिसरमा पुगेर बिसर्जन गरिएको थियो । शोभायात्रामा सभामुख घिमिरे आफैं सरिक भएका थिए । एक हजारभन्दा धेरै भक्तजनको सहभागितामा भएको शोभायात्रामा सभामुख घिमिरे शनिश्चरे रोड हुँदै मुक्ति चौक परिसरसम्म हिँडेरै सहभागी बनेका थिए ।

आचार्य आशुुतोष खनालको संयोजनमा २१ जना ब्राम्हण र एक सय जना बटुक समेत शोभायात्रामा सहभागी बनेका थिए । पञ्चेबाजासहित निकालिएको शोभायात्रामा स्थानीय भजन कीर्तन समूहका महिलाहरु समेत सरिक थिए । विभिन्न भेषभूषामा सजिएर कलशयात्रामा सरिक महिलाहरुले गायत्री माताको मन्त्र उच्चारण गरेका थिए ।

बिर्तामोडमा पहिलो पटक आयोजना गरिएको गायत्री माताको पाँच दिवसीय अनुष्ठान माघ २१ गतेसम्म सञ्चालन हुने हुनेछ । स्थानीय दाता , बिर्तामोड नगरपालिका र प्रदेश सरकारको अढाई करोड रुपैयाँको संयुक्त लगानीमा गायत्री माताको मन्दिर निर्माण गरिएको हो । अनुष्ठान शुरु भएसंगै नेपाल तथा भारतमा ख्यातिप्राप्त भजन गायकद्वारा दैनिक भजन कीर्तनको आयोजना गरिएको गायत्री मन्दिर सेवा समितिका कार्यक्रम संयोजक रोनक वंशलले बताए ।
उनका अनुसार भजन कीर्तनका लागि कृष्ण भण्डारी, आयुष शर्मा, साहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुत सहभागी हुनेछन् ।

माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना गरिएको छ ।

माघ २१ गते विधिपूर्वक प्राण प्रतिष्ठा गरिने कार्यक्रम संयोजक रोनक वंशलको भनाई छ । माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम तय भएको छ ।

मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिएको छ । जसका लागि स्पाइन एक्स हस्पिटल प्रालिले निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था मिलाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्