झापा,माघ १७। झापा बिर्तामोडका तामाङ समुदायले धुमधामका साथ ल्होछार पर्व मनाएका छन् ।

पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउने उद्देश्यले तामाङ समुदायले बिर्तामोडका विभिन्न गुम्बाहरुमा अलग अलग कार्यक्रम गरी सोनाम ल्होछार पर्व उल्लासका साथ मनाएका हुन् ।

प्रकृति पूजकको पर्वका रूपमा परिचित ल्होछारमा विभिन्न मिष्ठान्न भोजनका साथै आफ्नो समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइएको हो।

मञ्जुश्री संवत २८६१ को अवसरमा बिर्तामोड ४ स्थित नमोबुद्ध गुम्बा र बिर्तामोड ९ स्थित नेखाङ्ग छ्योलिङ्ग गुम्बामा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो । दुवै कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सरकारका खानेपानी , सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्की रहेका थिए ।

नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिको आयोजनामा नमोबुद्ध गुम्बामा कार्यक्रम आयोजना गरिएको थियो । नगर अध्यक्ष विजय तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्की , बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाई ,बिर्तामोड साना शहरी खानेपानी संस्थाका अध्यक्ष मेघराज बास्तोला, समाजसेवी प्रेमराज घिसिङ,गोविन्द तामाङलगायतले मन्तव्य राखेका थिए । उपाध्यक्ष तारा चाम्लिङ तामाङले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव गणेश तामाङले गरेका थिए । कार्यक्रममा शिक्षक मानबहादुर तामाङ र सहयोगी कमला लोलाई सम्मान गरिएको थियो ।


त्यस्तै बिर्तामोड ९ को नेखाङ्ग छ्योलिङ्ग गुम्बामा आयोजित कार्यक्रममा मन्त्री कार्की , बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई , उपप्रमुख नगेन्द्र संग्रौला , बिर्तामोड ९ का वडाध्यक्ष हरि चौलागाँई , तामाङ घेदुङ बिर्तामोडका अध्यक्ष बिजय तामाङ,कंचन टोलका अध्यक्ष प्रेम भण्डारी , गुम्बाका संस्थापक अध्यक्ष चन्द्रमणि योञ्जनलगायतले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष मानबहादुर थिङले स्वागत गरेको कार्यक्रमको संचालन सचिव चनीमाया तामाङले गरेकी थिइन् । तामाङ समुदायले सोनाम ल्होसारलाई नयाँ पर्वको रुपमा धुमधामसँग मनाउने चलन रही आएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्