बिर्तामोड, माघ १७ । झापाको बिर्तामोड–५ मा रहेको न्यूटन्स एजुकेशन एकेडेमीले २२ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।

एकेडेमीले बिहीवार विद्यालय परिसरमा विविध कार्यक्रम गरी २२ औं बार्षिकोत्सव मनाएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सरकारका खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो । सोही कार्यक्रमकाबिच विद्यालयले न्यूटन्सका विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष, पूर्व प्रधानाध्यापक महेन्द्ररत्न तथा शैक्षिक ब्यक्तित्व किशोर प्रसाईलाई अभिन्नदन तथा सम्मान गरेको छ । उक्त सम्मानपत्र शिक्षक नारायण पौडेलले वाचन गरेका थिए ।
यसैगरी विद्यालयलाई सँधै सरसल्लाह, सुझाव र मार्गनिर्देशन गर्ने अभिभावकका रुपमा सविता लिम्बू र दिनेश अधिकारीलाई सम्मान गरिएको छ । उनीहरुको सम्मानपत्र शिक्षिका सुष्मा तामाङले वाचन गरेकी थिइन् ।
त्यस्तै जनसेवामा समर्पित ब्यक्तित्वका रुपमा स्त्रीरोग बिशेषज्ञ डा. प्रियङ्का कटुवाल र एडभान्स प्याथोलोजी प्रमुख डा. सीमा प्रधानलाई सम्मान गरिएको थियो । उनीहरुको सम्मानपत्र शिक्षिका जेन्नी राईले वाचन गरेकी थिइन् ।
त्यसैगरी सामाजिक क्षेत्रमा क्रियाशील न्यूटन्सका पूर्व विद्यार्थीहरुलाई पनि कदरपत्रद्वारा सम्मान गरिएको थियो । उनीहरुको कदरपत्र शिक्षिका तीला परियारले वाचन गरेकी थिइन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्की, विद्यालयका प्रिन्सिपल देबेन्द्र हुमागाई, बिर्तामोड नगर शिक्षा प्रमुख तिलचन भण्डारी, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईलगायतले कदरपत्रसहित दोसल्ला र मायाको चिनोसहित सम्मान गरेका थिए ।
विद्यालयले प्राथमिक तह साँस्कृतिक कार्यक्रमसहित २२ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।
स्वागत मन्तव्यसहित बिद्यालयको गतिबिधिबारे प्रिन्सिपल देबेन्द्र हुमागाईले प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्की, नगर शिक्षा प्रमुख तिलचन भण्डारी, डा. प्रियङ्का कार्कीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षिका पवित्रा पौडेलले गरेकी थिइन् ।