झापा,माघ १८ । खाना पकाउने एलपी ग्यासको आयात बढेको छ । चिसो मौसमसँगै बजारमा खपत बढेकाले ग्यास आयातमा समेत वृद्धि भएको हो ।
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले कोटा अनुसार ग्यासको आयात नियमित रूपमा भइरहेको जानकारी दिए । चिसोमा खपत बढ्ने हुँदा आयातमा वृद्धि भएको उनको भनाइ छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आव २०८१÷८२ को छ महिनामा २९ अर्ब ७९ करोड सात हजार रुपियाँ बराबरको दुई लाख ६५ हजार ४५७ मेट्रिक टन ग्यास आयात भएको छ । गत वर्ष सो अवधिमा २५ अर्ब ४५ करोड ९० लाख रुपियाँ बराबरको दुई लाख ५६ हजार २४० हजार मेट्रिक टन ग्यास आयात भएको थियो । चिसो समय ग्यासको खपत बढ्दा गत आवको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा तीन अर्ब रुपियाँभन्दा बढीको ११ हजार मेट्रिक टन ग्यास बढी आयात भएको विभागको तथ्याङ्कले देखाएको छ । गत आव २०८०÷८१ मा ५५ अर्ब ६१ करोड ८४ लाख २५ हजार रुपियाँ बराबरको पाँच लाख २४ हजार २०४ मेट्रिक टन ग्यास आयात भएको थियो । सरकारले विद्युत्को प्रयोग बढाएर ग्यासको आयात घटाउने लक्ष्य लिए पनि ग्यासको आयात भने बढ्दै गएको छ । पछिल्लो समय घर घरमा विद्युतीय चुलो (इन्डक्सन) को प्रयोगसमेत बढ्दै गएको छ । खाना पकाउनका लागि बिजुलीको प्रयोग भए पनि ग्यासको खपतसमेत बढ्दै गएको तथ्याङ्कले देखाएको छ । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले अन्य समयको तुलनामा चिसो मौसममा ग्यासको खपत १० देखि १५ प्रतिशत बढी हुने गरेको बताए ।
बजारमा ग्यास सिलिन्डरको संख्या धेरै भए पनि छ वर्षदेखि ग्यासको कोटा समायोजन नहुँदा बेला बेला ग्यासको वितरणमा समस्या हुने उनको भनाइ छ । ग्यासको भण्डारण क्षमता नहुँदा आपूर्तिमा अवरोध हुँदासाथ बजारमा ग्यासको अभाव हुने उनको भनाइ छ । ग्यासको आपूर्ति व्यवस्था सहज बनाउन पाइप लाइनबाट भित्र्याएर भण्डारण गर्नु आवश्यक रहेको उनको भनाइ छ । निजी व्यवसायीसँग बुलेटमार्फत पाँच हजार मेट्रिक टन ग्यासको भण्डारण क्षमता भए पनि निगमसँग भने भण्डारण क्षमता छैन । निगमले ग्यासको खरिद आदेश मात्र (पिडियो) जारी गर्ने र निजी व्यवसायीले ग्यास आयात गर्ने गर्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्