बिर्तामोड, माघ १८ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ बिर्तामोडको अध्यक्षमा धर्म लक्सम्बा चयन भएका छन् ।

बिर्तामोड नगरक्षेत्रका १८ वटा सामुदायिक र दुई वटा गुरुकुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रतिनिधिहरुको भेलाले लक्सम्बाको अध्यक्षतामा बिर्तामोड नगर समिति चयन गरेको हो । लक्सम्बा पञ्चरत्न मावि व्यवस्थापन समितिका अध्यक्ष हुन् । समितिको उपाध्यक्षमा दानकुमारी भण्डारी, सचिवमा चिरञ्जीवी ओली, कोषाध्यक्षमा किरण तिम्सिना तथा सदस्यहरुमा युवराज गौतम, विष्णुमाया न्यौपाने र तोमप्रसाद ओली रहेका छन् ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ झापाका संयोजक बुद्धिमान कार्कीको पहलमा बिर्तामोडमा समिति गठन भएको हो । कार्यक्रममा बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संंग्रौलाले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा समिति र पालिकाबीच सहकार्य हुने बताए । उनले शैक्षिक क्षेत्रका अभियन्ताको कामलाई प्रभावकारी बनाउन समिति सहयोगी हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा बिर्तामोडका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बिर्तामोड क्षेत्रमा सामुदायिक स्कुलको अवस्था सुधारोन्मूख रहेको बताएका थिए ।