झापा, माघ १९ । कोशी प्रदेशमै पहिलो पटक बिर्तामोड–५ स्थित बालाजी मन्दिरनजिकै निर्माण गरिएको भव्य गायत्री माताको मन्दिरमा बहुमूल्य र कलात्मक मूर्ति प्रतिस्थापन गरिने भएको छ ।

भारत जयपुरका एकजना प्रसिद्ध मूर्तिकारले एउटै सिंगमरमरको ढुंगाले गायत्री माताको सो मूर्ति निर्माण गरेका हुन् । पंचमुखी र दश हाते सो मूर्ति ५ फिट अग्लो रहेको मन्दिर निर्माण समितिका संयोजक रोनक वंशलले बताए । दाहिने हात र दाहिने खुट्टा नभएका ६३ वर्षका ती कलाका सर्जकलाई माघ २१ गते नगदसहित सम्मान गरिने भएको छ । उनलाई १ लाख १ हजार नगदसहित सम्मान गर्न लागिएको वंशलले जानकारी दिए । माघ २० गते राभभरि जजमानहरुले यज्ञ गरिसकेपछि भोलिपल्ट माघ २१ गते बिहान पञ्चे बाजा , नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड बाजा , सन्थाल नृत्य, विभिन्न जातजातिका झाँकी , स्काउटसहित विभिन्न संघसंस्थाको र्यालीले बिर्तामोड बजार परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।
सो र्यालीमा नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजको सहभागिता रहने भएको छ । उनी अघिल्लै दिन आउने भएका छन् । माघ २० गते जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचन आयोजना गरिएको छ । र्यालीपछि विधिपूर्वक प्राण प्रतिष्ठा गरिने कार्यक्रम संयोजक रोनक वंशलको भनाई छ । माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम तय भएको छ ।
र्यालीमा ४ हजारभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ । र्यालीका सहभागीेहरुका लागि करिव २ हजार वटा गायत्री माताको झान्डा तयार गरिएको छ । नगर पक्रिमापछि सहभागी सबैलाई माताको दर्शन गराउने योजना रहेको वंशलले सुनाए । ‘ दुई लाइन बनाएर सबैलाई माताको दर्शन गराउने हाम्रो योजना छ ’ उनले भने,‘ भीएआइपीदेखि सर्वसाधारण सबैले दर्शन गर्न पाउनु हुन्छ ।’
सहभागी सबैलाई खानाको प्रवन्ध मिलाइएको संयोजक वंशलले बताए । उनका अनुसार खानाको लागि ३ वटा स्टल मिलाइएको छ । पाँच दिने अनुष्ठान शुरु भएदेखि नै सहभागीहरुका लागि महाप्रसादको व्यवस्था गरिएको उनको भनाई छ ।
को हुन् गायत्री माता ?
गायत्री दुईवटा शब्द मिलेर बनेको छ– गाय र त्री। गायको अर्थ गाउनु भन्ने हुन्छ। भने त्रीको ३ भन्ने हुन्छ। त्यसकारण गायत्री भन्नाले जुन मन्त्रको गायन वा साधना दिनमा ३ पटक अर्थात बिहान, दिउँसो र बेलुका गरिन्छ, त्यो शक्तिलाई गायत्री भनिन्छ। गायत्री मन्त्रको उच्चारण सार र छन्द मिलाएर गर्नु पर्ने भएकाले गायन भनिएको हो। तर मानसिक रुपमा जप पनि गर्न सकिन्छ।
गायत्री मन्त्रहरुमा सबैभन्दा प्रचलित मन्त्र २४ अक्षरको ब्रहम गायत्री हो– जुन “भूर्भुव स्वः” बाट शुरु हुन्छ। यसका साथ साथै देवता अनुसारको फरक फरक गायत्री हुन्छन् , जस्तो गणेश गायत्री,गुरु गायत्री, देवी गायत्री आदि। यसको साथै वर्णअनुसारको फरक फरक गायत्री पनि हुन्छ।
गायत्रीलाई साकार र निराकार दुवै रुपमा मान्ने गरिन्छ। सावित्री अथवा सरस्वती पनि गायत्री माताको एक रुप हो। हिन्दु धर्ममा व्रतबन्ध गर्ने संस्कार छ। व्रतबन्ध गर्नु पर्ने मुख्य कारण के हो भने त्यस दिन योग्य गुरुद्वारा व्रतबन्ध गरिने बटुकलाई गायत्री मन्त्र प्रदान गरिन्छ। त्यस दिनदेखि बटुकले दिनका ३ पटक गायत्री साधना गर्नु पर्ने हुन्छ। हाम्रा शास्त्र तथा ऋषी मुनी तथा साधकहरुले गायत्रीको ठूलो महत्व बताएका छन्।
महर्षि विश्वामित्रका अनुसार गायत्रीसमान चारै वेदमा कुनै मन्त्र छैन र वेद, यज्ञ, दान, तपको फल गायत्रीको एक अंश बराबर हो। भगवान मनुका अनुसार गायत्री मन्त्र सबैभन्दा श्रेष्ठ छ। जसले नियमित रुपमा ३ वर्षसम्म गायत्रीको जप श्रद्धा र विश्वासपूर्वक गर्दछ भने उसले इश्वर प्राप्त गर्दछ। अन्य कुनै जप वा साधना गरे पनि नगरे पनि गायत्री जप मात्र गर्ने गरेको छ भने पनि उसले सिद्धि प्राप्त गर्न सक्छ। योगीराज याज्ञवल्क्यका अनुसार गायत्री मन्त्रभन्दा परम पवित्र अर्को मन्त्र छैन। गायत्रीभन्दा श्रेष्ठ मन्त्र अर्को छैन र हुने पनि छैन।