झापा, माघ २२ । झापाको कन्काई नगरपालिका ४ मा प्रहरीले गोली प्रहार गरी दुईजना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
आज साँझ कन्काई ४ मा दुईजनाले लागूऔषध लुकाएर राखेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गर्न खोजेको थियो । त्यसक्रममा उनीहरु भागेपछि खेदाउने क्रममा प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो । तर पनि भागेपछि दुई राउन्ड गोली हानेर लागूऔषधसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । एकजनाको खुट्टामा गोली लागेको छ । दुई गोली हानेकोमा अन्जार आलमको बायाँ गोडामा एक गोली लागेको छ ।दुवैजनालाई पक्राउ गर्न प्रहरी सफल भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालले बताए ।
पक्राउ पर्नेहरुमा भारत डिघलबैंक ५ का २८ वर्षीय अन्जार आलम र उनका भाई १७ वर्षीय युसुफ आलम रहेका छन् । एकजनालाई नियन्त्रणमा लिएको र अर्का घाइतेलाई उपचारका लागि कन्काई नगर अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको प्रहरीले जनाएको छ । । उनीहरुको साथबाट ३५ ग्राम ब्राउनसुगर बरामद भएको जनाइएको छ ।