झापा, माघ २२ । झापाको बाह्रदशीमा संचालित प्रथम बाह्रदशी अध्यक्ष कप आमन्त्रित कोशी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोेगिताको उपाधि दमक नगरपालिकाले उचालेको छ।

आज भएको फाइनल खेलमा दमक नगरपालिकाले २५–२१, २३–२५,२५–१६ र २५–१६ को सेटमा बिर्तामोडलाई पराजित गरेको हो। बिजेता दमक नगरपालिकाले नगद एक लाख २१ हजार २२१ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।
यस्तै उपबिजेता बनेको बिर्तामोड नगरपालिकाले नगद ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । फाइनल खेलको म्यान अफ द म्याच दमकका खेलाडी सुमन रानामगर घोषित भए ।उनले ट्रफी र सम्मानपत्र प्राप्त गरे।फाइनल खेलअघि भएको सेमिफाइनल खेलबाट बाहिरिएका लेटाङ नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाले नगद दश–दश हजार पाएका छन्।
बाह्रदशी गाउँपालिका परिसरमा भएको खेलमा सर्वोत्कृष्ट खेलाडी दमकका प्रदीप कट्टेल घोषित भए। उनले नगद पाँच हजार र प्रमाणपत्र पाए। बेस्ट लिफ्टर दमकका खेलाडी मुस्कान लिम्बू, बेस्ट स्पाइकर बिर्तामोडका लीला डाँगी, सर्वोत्कृष्ट ब्लकर दमकका जेनिस क्षेत्री, उदीयमान खेलाडी आयोजक टिका बिक्रम मर्डी, सर्वोत्कृष्ट डिफेन्स दमकका खेलाडी भुवन क्षेत्री घोषित भए। सम्पूर्ण उत्कृष्ट विधागत खेलाडीलाई जनही नगद पच्चीस सय र प्रमाणपत्र प्रदान गरिएको थियो ।
सेमिफाइनल खेलबाट पाथीभरा याङ्वरकलाई हराउँदै दमक र बिर्तामोड नगरपालिकाले लेटाङ नगरपालिकालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए।