बिर्तामोड, माघ २८ । धार्मिक पर्यटनमा झापाका इन्जिनियरहरुले चासो राखेका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड स्थानीय केन्द्रले धार्मिक तथा पर्यटकीय स्थलमा निर्माण गरिने भौतिक संरचनाका बिषयमा सरोकारवाला बिज्ञहरुको सुझाव संकलन गर्न आगामी फागुन २ गते बिर्तामोडमा एकदिने गोष्ठी आयोजना गर्ने भएको हो ।
एशोसिएसन बिर्तामोड स्थानीय केन्द्रले सोमवार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर गोष्ठीका बिषयमा जानकारी दिएको छ । एशोसिएसनले ‘पौराणिक तथा पुरातात्विक ढंगले प्रतिष्ठित देवी, देव क्षेत्रलाई पर्यटकीय एवम् धार्मिक पर्यटकीय स्थलको रुपमा संरक्षण र विकसित गर्ने उद्धेश्यले निर्माण गरिने भौतिक संरचना’ का बिषयमा गोष्ठी आयोजना गर्न लागेको कार्यक्रम संयोजक इ.प्रकाशकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार ‘पौराणिक तथा पुरातात्विक साथै धार्मिक तथा पर्यटकीय स्थलको निर्माणमा देखिएका बेथितिलाई सुधार गर्ने लक्ष्यका साथ बिज्ञहरुका सुझावका आधारमा निर्णय गरिनेछ । गोष्ठीमा निस्किने निर्णयका आधारमा झापाका सवै क्षेत्रलाई समेटेर साझा प्रतिवद्धता पत्रसमेत सार्वजनिक गरिने इ. सिंहले बताए ।
गोष्ठीमा धर्म र धार्मिक आस्थाका बारेमा साधुटार शंकराचार्यपीठका अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडा, पर्यटनका बारेमा टे«क ८५८६ पर्यटन ब्यवसायी तथा गाइड अमिर राई, निर्माणका बिषयमा इन्जिनियरिङ अध्यापन संस्थान पूर्वाञ्चल क्याम्पस प्रमुख इ. काजीराम कार्की र निर्माण नीतिका बिषयमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सहजीकरण गर्ने एशोसिएसनका सभापति इ. इन्द्रमणि घिमिरेले बताए ।
गोष्ठीमा झापाका १५ वटै पालिकाका प्रमुख तथा उप–प्रमुख, धार्मिक तथा पर्यटकीय क्षेत्रका प्रमुख तथा प्रतिनिधि, निर्माण क्षेत्रका प्रमुख तथा प्रतिनिधि, निर्माण क्षेत्रका बिज्ञसहित सरोकारवालाहरुलाई निमन्त्रणा गरिने इ. रोशन सुवेदीले बताए ।