बिर्तामोड,माघ ३० । डोमालाल राजवंशी रंगशाला रहेको देवी गुठीको जग्गा अतिक्रमण गरी घर बनाएर बसेका १८ परिवार अनागरिकहरुलाई बिर्तामोड नगरपालिकाले हटाउने भएको छ ।

डोमालाल राजवंशी रंगशालाको हालको खेलमैदानदेखि पश्चिमपट्टि र उत्तरदक्षिण ग्राभेल सडकदेखि पूर्वपट्टि रहेका तीनवटा बस्तीका घरहरु नगरपालिकाले हटाउने भएको हो । मोहम्मद रैसुल , रजक खान , मोहम्मद मनसप , काजी मिया, कृष्ण बराई , मोहम्मद मंगलु , सुलेमानलगायतको घर हटाउन नगरपालिकाले सूचना जारी गरेको छ । नगरपालिकाले मंगलबार एक सार्वजनिक सूचना जारी गरी सो क्षेत्र संरक्षणका लागि घेराबारा गर्नुपर्ने भएकाले गैरकानुनी ढंगले निर्माण गरिएका घरटहरालगायत सम्पूर्ण संरचना ३५ दिनभित्र हटाउन भनेको छ । उक्त आदेश अटेर गरे नगरपालिकाले स्वयम् हटाउने र सो बापत लाग्ने खर्चसमेत व्यहोर्नु पर्ने जनाएको छ ।
त्यहाँ घर बनाएर बसेका धेरैजना अनागरिकहरु हुन् । अधिकांश भारतीय हुन् भने केहीको मात्र नेपाली नागरिकता रहेको छ । डोमालाल राजवंशीले दान दिएको करिव १२ विगाह जग्गा देवी गुठी समितिले बिक्री गर्दा स्थानीयहरु आन्दोलित भएपछि जग्गा खरिद गर्नेहरुले भोगचलन गर्न पाएनन् । धेरै वर्षसम्म सो जग्गा उपयोगविहीन बन्यो । त्यही मौकामा एक–दुई घर अनागरिकहरुले खाली जग्गामा छाप्रो बनाउन थालेका थिए । त्यसलाई बढाउँदै बढाउँदै उनीहरुले तीनवटा बस्ती नै विस्तार गरिसकेका छन् । सानो छाप्रोसंगै उनीहरुले पक्की घर नै निर्माण गरेका छन् । रंगशाला छेउको बस्तीमा ७ , उत्तरदक्षिण सडकको पूर्वपट्टि एउटा बस्तीमा ६ र अर्को बस्तीमा ५ घर रहेका छन् । उनीहरुलाई आफूले रंगशालाको जग्गा खाली गर्न निकै अगाडि भनिसकेको बिर्तामोड– ३ का वडाध्यक्ष मदन बुढाथोकीले बताए । अटेर गरेपछि नगरपालिकाले प्रक्रिया शुरु गरेको उनको भनाई छ ।
डोमालाल राजवंशी रंगशालाको जग्गा घेरावारा गरिने भएको छ । त्यसका लागि संघीय सरकारले १ करोड रुपैयाँ छुट्याएको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले बताए । उनले बजेट कार्यान्वयन गराउनका लागि नगरपालिकाले ठाउँ खाली गराउन लागेको जानकारी दिए ।
यसअघि गत जेठमा शहरी विकास तथा भवन कार्यालयको ५० लाख रुपैयाँको बजेटबाट रंगशालाको दक्षिणपट्टि पक्की घेरावारा गरिएको थियो । रंगशालाको दक्षिणपट्टी १८० मिटर लम्बाई भएको कम्पाउन्ड वाल निर्माण गरिएको हो । डोमालाल राजवंशी रंगशालालाई क्रमागत रुपमा चारैतिरबाट घेरावारा गरिने वडा अध्यक्ष बुढाथोकीले जानकारी दिए ।