झापा,फागुन २ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा इलामको सूर्योदय नगरपालिका देशका ७५३ पालिकामध्ये दोस्रो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समावेश गरेका १७ वटा सूचकमा ८०.२ अङ्क प्राप्त गरी कार्यसम्पादन मूल्याङ्कनमा सूर्योदय नगरपालिका देशकै दोस्रो तथा कोशी प्रदेशको पहिलो भएको हो । पालिकाले गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा आयोगले आर्थिक वर्ष २०८०÷८१ को नतिजा प्रकाशन गरेको छ । आयोगले प्रकाशन गरेको नतिजा अनुसार गाउँ÷नगर सभा बैठक, राजस्व असुली परिचानल, विनियोजन भएका रकम र खर्च, बेरुजुको अवस्था, आवधिक योजना निर्माण, शिक्षा र स्वास्थ्य जस्ता गरी १७ वटा सूचकका आधारमा पालिकाले गरेका कार्य अनुसार अङ्क दिई नतिजा सार्वजनिक गरेको आयोगले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।
सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले अघिल्ला वर्षको नतिजा र निरन्तर प्रयासका कारण कार्यसम्पादन मूल्याङ्कनमा देशभरमै सूर्योदय दोस्रो हुन सफल भएको बताए । उनले भने, “सुशासनको पहिलो आधार बेरुजु हो । हाम्रो नगरको बेरुजु शून्य जस्तै छ ।” अघिल्लो आर्थिक वर्षको नतिजा अनुसार नगरको बेरुजु ०.०२ प्रतिशत मात्र रहेको छ ।
सूर्योदय नगरपालिका आर्थिक वर्ष २०७९÷८० मा आर्थिक विकासतर्फ देशकै उत्कृष्ट घोषणा भएको थियो । शिक्षा क्षेत्रमा कोशी प्रदेश पहिलो घोषणा भएको नगरपालिका शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र पशुपालनमा अब्बल रहेको छ । नगरलाई पेपरलेस र प्रविधिमैत्री बनाइएको छ । बालमैत्री नगर, पर्यटकीय नगरी घोषणा भइसकेको सूर्योदयले वातावरणमैत्री र पोषण मैत्रीनगर घोषणाका लागि काम गरिरहेको नगरका प्रमुख प्रशासकीय अधिकृत अमृत राईले जानकारी दिए ।

आयोगको कार्यसम्पादन मूल्याङ्कन अनुसार इलामका अन्य पालिकामध्ये देउमाई नगरपालिकाले ६८.१ अङ्क, माई नगरपालिकाले ६८.१ अङ्क, इलाम नगरपालिकाले ६५.३ अङ्क पाएका छन् । यस्तै गाउँपालिकातर्फ चुलाचुली गाउँपालिकाले ५८ अङ्क, सन्दकपुर गाउँपालिकाले ५७.९ अङ्क, फाकफोकथुम गाउँपालिकाले ५६.३ अङ्क रोङ गाउँपालिकाले ५४.९ अङ्क, माङ्सेबुङ गाउँपालिकाले ५४ अङ्क र सबैभन्दा कम अङ्क माईजोगमाई गाउँपालिकाले ४६.२ पाएको छ । आयोगको नतिजाका आधारमा पालिकाले अनुदान रकम पाउने आयोगले जनाएको छ । आयोगको प्रतिवेदन अनुसार कोशी प्रदेश ५०.९ अङ्कसहित देशभरका सात प्रदेश सरकारमध्ये दोस्रो भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्